उद्देश्य प्रेरित जीवन- पुस्तक समीक्षा

रिक वारेन (Rick Warren) द्वारा लिखित उद्देश्य प्रेरित जीवन आधुनिक ख्रीष्टियन साहित्यमा अत्यन्त लोकप्रिय, व्यापक रूपमा पढिएको, र विश्वव्यापी प्रभाव छोड्न सफल भएको एक उल्लेखनीय आत्मिक पुस्तक हो, जसले मानिसको जीवनको सबैभन्दा गहिरो र अस्तित्वसँग सम्बन्धित प्रश्न “म किन जन्मिएको हुँ?” “म किन बाँचिरहेको छु?” “मेरो जीवनको उद्देश्य के हो?” “परमेश्वरले मलाई किन सृष्टि गर्नुभयो?” भन्ने प्रश्नहरूको उत्तर बाइबलको प्रकाशमा खोज्ने प्रयास गर्दछ। यो पुस्तक सन् २००२ मा Zondervan प्रकाशन गृहबाट प्रकाशित भएको हो र प्रकाशित भएदेखि नै यसले करोडौं पाठकहरूलाई आत्मिक रूपमा चुनौती दिने, जीवनको दिशा बदल्ने, र परमेश्वर केन्द्रित जीवनतर्फ उन्मुख गराउने कार्य गरेको देखिन्छ।

            पुस्तकको आरम्भमै लेखकले प्रस्तुत गरेको वाक्य “यो तिम्रो बारेमा होइन” ले पुस्तकको सम्पूर्ण मुख्य सन्देशलाई संक्षेपमा व्यक्त गर्दछ, किनकि मानिसको जीवनको मूल उद्देश्य मानिस स्वयंलाई केन्द्रमा राखेर बुझ्न खोज्नु नै सबैभन्दा ठूलो भ्रम हो भन्ने लेखकको तर्क यस वाक्यबाट सुरु हुन्छ। लेखकले मानिसको जीवनको उद्देश्य खोज्ने प्रवृत्तिलाई आलोचनात्मक दृष्टिले विश्लेषण गर्दै बताउँछन् कि आधुनिक समाजमा मानिसहरूले उद्देश्यलाई सफलता, धन, सुख, आत्म-सन्तुष्टि, आत्म-उन्नति तथा व्यक्तिगत सपनाहरू पूरा गर्नसँग जोडेर हेर्ने गरेका छन्, तर यी सबै कुरा प्राप्त गरेपछि पनि मानिसले जीवनमा स्थायी शान्ति र सन्तोष पाउँदैन, किनकि मानिसको आत्मा परमेश्वरद्वारा सृष्टि गरिएको हुँदा मानिसको आत्मा परमेश्वरबाहेक अरू कुनै वस्तु वा उपलब्धिले पूर्ण सन्तुष्टि पाउन सक्दैन। यसरी पुस्तकको सुरुवाती अध्यायहरूले पाठकलाई जीवनको उद्देश्य बुझ्न मानव केन्द्रित सोचबाट हटाएर परमेश्वर केन्द्रित सोचमा प्रवेश गराउँछ, र लेखकको दृष्टिकोण अनुसार उद्देश्यको खोजी आत्म-प्रेरणा वा मनोवैज्ञानिक सन्तुलनको विषय मात्र नभई गहिरो थियोलोजिकल सत्यसँग सम्बन्धित विषय हो, किनकि जीवनको उद्देश्य सृष्टिकर्ता परमेश्वरको इच्छा, योजना, र महिमासँग प्रत्यक्ष सम्बन्धित छ।

             यस पुस्तकलाई विशेष रूपमा ४० दिनको आत्मिक यात्राको ढाँचामा तयार गरिएको छ, जसमा प्रत्येक दिन एउटा अध्याय पढ्ने, त्यस दिनका बाइबल पदहरू मनन गर्ने, र अन्त्यमा दिइएका “मनन प्रश्नहरू” मार्फत पाठकलाई आत्म-परिक्षणमा लैजाने उद्देश्य राखिएको छ; लेखकले ४० दिनको अवधारणा बाइबलमा ४० दिन/ ४० वर्षको परीक्षण, प्रशिक्षण, र रूपान्तरणसँग सम्बन्धित रहेको कुरा संकेत गर्छन्, जस्तै मोशा ४० दिन सीनै पर्वतमा रहनु, इस्राएलीहरू ४० वर्ष मरुभूमिमा यात्रा गर्नु, र येशू ४० दिन जंगलमा परीक्षामा पर्नु जस्ता घटनाहरूले आत्मिक परिवर्तन र तयारीको समयलाई प्रतिनिधित्व गर्छन्। यस पुस्तकको संरचनाले पाठकलाई क्रमशः आत्मिक विकासको यात्रामा लैजान्छ, किनकि पहिलो सात दिनमा लेखकले जीवनको उद्देश्य बुझ्न आधार तयार गर्छन्, त्यसपछि उद्देश्यहरूलाई क्रमशः व्याख्या गर्दै अन्तिम दिनहरूमा सेवकाई र मिशनमा जीवन समर्पण गर्न प्रेरित गर्छन्।

            पुस्तकको आरम्भिक भागमा लेखकले “जीवन परमेश्वरबाट सुरु हुन्छ” भन्ने मूल अवधारणा स्थापित गर्छन्, जसअनुसार मानिसले जीवनको उद्देश्य बुझ्न आफूबाट सुरु गर्नु हुँदैन, किनकि मानिसको इच्छाले होइन परमेश्वरको उद्देश्यले मानिसको अस्तित्व निर्धारण गरेको हुन्छ। मानिसले जीवनको उद्देश्य खोज्दा प्रायः “म के चाहन्छु?” “मलाई के मन पर्छ?” “म के बन्न सक्छु?” “मेरो लक्ष्य के हो?” भन्ने प्रश्नबाट सुरु गर्छ, तर लेखक भन्छन् कि यी प्रश्नहरू आत्मकेन्द्रित छन् र अन्ततः मानिसलाई भ्रममा पार्छन्, किनकि उद्देश्य बुझ्नको लागि “मलाई किन बनाइएको हो?” भन्ने प्रश्नको उत्तर सृष्टिकर्ताबाट नै आउँछ।

            यसकारण लेखकले बाइबललाई जीवनको “निर्देशन पुस्तिका” को रूपमा प्रस्तुत गर्छन् र बताउँछन् कि परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभएको छ, त्यसैले मानिसको अस्तित्व परमेश्वरको महिमासँग सम्बन्धित छ; बाइबलले मानिसलाई परमेश्वरको महिमा गर्न र परमेश्वरको आनन्दमा सहभागी हुन सृष्टि गरिएको बताउँछ भन्ने कुरा पुस्तकको मूल विचार हो। लेखकले जीवनलाई अनन्तताको दृष्टिकोणबाट बुझ्न आवश्यक छ भनेर जोड दिँदै बताउँछन् कि पृथ्वीको जीवन अस्थायी हो र मानिसको वास्तविक जीवन अनन्ततामा आधारित छ; यस संसारलाई उनले “अस्थायी निवास” को रूपमा वर्णन गर्छन् र स्वर्गलाई वास्तविक घर मान्छन्, जसको अर्थ मानिसले केवल अहिलेको क्षणलाई मात्र होइन, अनन्त जीवनको तयारीलाई केन्द्रमा राखेर जीवन बिताउनुपर्छ। यो विचार बाइबलको शिक्षासँग मेल खान्छ, किनकि प्रेरित पावलले पनि विश्वासीलाइ स्वर्गीय नागरिकताको चेतना राख्न प्रेरित गरेका छन् (फिलिप्पी ३:२०) र येशूले “पहिले परमेश्वरको राज्य खोज” (मत्ती ६:३३) भन्नुभएको छ।

            संसारिक उपलब्धिको सीमितता बुझाउँदै “अनन्त मूल्य” भएका कुराहरूमा लगानी गर्न प्रेरित गर्छन्, किनकि मृत्युले मानिसका सबै सांसारिक उपलब्धि अन्त्य गरिदिन्छ, तर आत्मा अनन्त हुन्छ र परमेश्वरको अगाडि जवाफदेही हुनुपर्छ।  पुस्तकमा जीवनलाई “परीक्षा” र “भरोसा” को रूपमा व्याख्या गरिएको छ, जुन बाइबलको भण्डारीपनसँग गहिरो रूपमा सम्बन्धित छ। परीक्षा भन्ने अवधारणाबाट लेखकले देखाउँछन् कि परमेश्वरले मानिसलाई विभिन्न परिस्थितिहरूमा राखेर उसको विश्वास, आज्ञाकारिता, धैर्य, प्रेम, नम्रता, क्षमा, र चरित्र जाँच गर्नुहुन्छ, र जीवनका दुःख, असफलता, तथा संघर्षहरूलाई पनि परमेश्वरले आत्मिक परिपक्वताको उपकरणको रूपमा प्रयोग गर्नुहुन्छ; उदाहरणका लागि, अब्राहामको विश्वासको परीक्षा (उत्पत्ति २२) वा यूसुफको जीवनमा देखिएको पीडा र अन्ततः परमेश्वरको योजना पूरा हुनु (उत्पत्ति ३७–५०) लाई लेखकले संकेत गर्छन्। भरोसा भन्ने अवधारणाले मानिसलाई सम्झाउँछ कि समय, स्वास्थ्य, धन, प्रतिभा, अवसर, सम्बन्ध, आत्मिक वरदान, र जीवनका सम्पूर्ण स्रोतहरू परमेश्वरका हुन्, मानिस केवल भण्डारे हो; त्यसैले यी कुराहरूको सदुपयोग गरे वा दुरुपयोग गरे अनुसार मानिस परमेश्वरको अगाडि उत्तरदायी हुन्छ। यस सन्दर्भमा लेखकले “हामी परमेश्वरका स्वामी होइनौं, भण्डारी हौं” भन्ने विचार प्रस्तुत गर्छन्, जुन येशूको दृष्टान्तहरू र प्रेरितहरूको शिक्षासँग सम्बन्धित छ।

            आत्मिक जिम्मेवारी र उत्तरदायित्वको चेतना प्रदान गर्दछ। पुस्तकको केन्द्रबिन्दु भनेको परमेश्वरले मानिसलाई पाँच उद्देश्यका लागि सृष्टि गर्नुभएको छ भन्ने मुख्य सिद्धान्त हो, जसलाई लेखकले व्यवस्थित रूपमा प्रस्तुत गर्दै प्रत्येक उद्देश्यलाई बाइबलका पदहरूद्वारा समर्थन गर्छन्; यी पाँच उद्देश्यहरू हुन्—आराधना, संगति/समुदाय संगती, चेलापन, सेवकाई र मिशन । पहिलो उद्देश्य “मानिस परमेश्वरको आनन्दका लागि बनाइएको हो” भन्ने विषयमा आधारित छ, जसले आराधनालाई ख्रीष्टियन जीवनको आधारभूत उद्देश्यको रूपमा स्थापित गर्छ; लेखकले आराधनालाई केवल गीत गाउने वा चर्च कार्यक्रममा सीमित नराखी जीवनको सम्पूर्ण समर्पणको रूपमा व्याख्या गर्छन्, जसमा मानिसको मन, विचार, भावना, वचन, निर्णय, कार्य, समय, र प्राथमिकताहरू परमेश्वरको महिमा र खुशीका लागि समर्पित हुनुपर्छ।

            आराधनाको यस व्यापक अर्थले रोमी १२:१ मा प्रेरित पावलले प्रस्तुत गरेको “जीवित बलिदान” को अवधारणासँग मेल खान्छ, जसले विश्वासीलाइ आफ्नो शरीरलाई परमेश्वरको सेवा र आराधनामा अर्पण गर्न आग्रह गर्छ। परमेश्वरले मानिसलाई प्रेमको सम्बन्धमा सृष्टि गर्नुभएको हो, त्यसैले परमेश्वरलाई प्रेम गर्नु नै आराधनाको केन्द्र हो, र परमेश्वरलाई प्रेम गर्नु केवल भावनात्मक अनुभूति होइन, तर आज्ञाकारिता र समर्पणमा प्रकट हुन्छ; यस सन्दर्भमा येशूले “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर्नेछौ” (यूहन्ना १४:१५) भन्नुभएको शिक्षालाई लेखकले आधार मान्छन्। लेखकले आराधनामा “सत्य” र “आत्मा” दुबै आवश्यक छ भनी जोड दिन्छन्, जसले येशूको शिक्षा (यूहन्ना ४:२३–२४) लाई प्रतिध्वनित गर्छ, र यसले पाठकलाई केवल बाह्य धार्मिकता होइन, भित्री आत्मिक समर्पणमा लैजान्छ। आराधनाको उद्देश्यलाई व्याख्या गर्दा लेखकले देखाउँछन् कि मानिसको जीवनको अन्तिम लक्ष्य परमेश्वरको महिमा गर्नु हो र परमेश्वरको महिमा गर्नु भनेको केवल शब्दले प्रशंसा गर्नु मात्र होइन, तर जीवनको सम्पूर्ण क्रियाकलापले परमेश्वरको चरित्र, प्रेम, सत्य, र पवित्रतालाई प्रतिबिम्बित गर्नु हो।

            दोस्रो उद्देश्य “मानिस परमेश्वरको परिवारको हिस्सा बन्न बनाइएको हो” भन्ने विषयमा आधारित छ, जसले चर्चको थियोलोजिकल महत्वलाई जोड दिन्छ; लेखकले बताउँछन् कि उद्धार व्यक्तिगत सम्बन्धको विषय भए पनि ख्रीष्टियन जीवन कहिल्यै व्यक्तिगत मात्र होइन, सामुदायिक हुन्छ, किनकि परमेश्वरले विश्वासीहरूलाई एकै परिवारको रूपमा जोड्नुभएको छ। बाइबलमा चर्चलाई “ख्रीष्टको शरीर” (१ कोरन्थी १२) र “परमेश्वरको घर” (१ तिमोथी ३:१५) भनेर वर्णन गरिएको छ, जसले विश्वासीहरूको आपसी निर्भरता, प्रेम, र एकताको महत्व देखाउँछ। संगति भनेको केवल भेटघाट वा मित्रता मात्र होइन, तर आत्मिक साझेदारी हो, जसमा विश्वासीहरूले एकअर्काको बोझ उठाउँछन् । एकअर्कालाई प्रेम गर्छन्, क्षमा गर्छन्, सुधार गर्छन्, र आत्मिक वृद्धि गराउँछन्। यस उद्देश्यले चर्चमा सहभागिता बिना ख्रीष्टियन जीवन अपूरो रहने कुरा देखाउँछ, किनकि मानिसले एक्लै बसेर आत्मिक परिपक्वता प्राप्त गर्न सक्दैन; परमेश्वरले विश्वासीहरूलाई समुदायमा राखेर प्रेम, नम्रता, सहनशीलता, र सेवा सिकाउनुहुन्छ। लेखकले विशेष गरी चर्चको एकता र प्रेमलाई संसारको अगाडि ख्रीष्टको साक्षीको रूपमा प्रस्तुत गर्छन्, किनकि येशूले पनि चेलाहरूलाई एक हुन प्रार्थना गर्नुभएको थियो ताकि संसारले विश्वास गरोस् (यूहन्ना १७:२१)। यसरी संगती उद्देश्यले विश्वासीलाइ चर्चप्रतिको प्रतिबद्धता, नियमित संगति, र आत्मिक जिम्मेवारीमा प्रवेश गराउँछ।

            तेस्रो उद्देश्य “मानिस ख्रीष्टजस्तै बन्न बनाइएको हो” भन्ने विषयमा आधारित छ, जुन चेलापन र पवित्रीकरणको थियोलोजी हो; लेखकले स्पष्ट गर्छन् कि उद्धार केवल पाप क्षमा भएर स्वर्ग जाने सुनिश्चितता मात्र होइन, तर परमेश्वरले विश्वासीलाई ख्रीष्टको स्वरूपमा ढाल्ने प्रक्रिया हो। यो विचार रोमी 8:२9 मा स्पष्ट छ, जहाँ लेखिएको छ कि परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको उद्देश्य “उहाँको पुत्रको स्वरूपमा अनुरूप बनाउनु” हो। लेखकले बताउँछन् कि परमेश्वरले मानिसलाई परिवर्तन गर्न विभिन्न माध्यम प्रयोग गर्नुहुन्छ । बाइबलको वचन, प्रार्थना, आत्मिक अनुशासन, पवित्र आत्माको काम, संगति, र जीवनका कठिन परिस्थितिहरू। विशेष गरी दुःख र समस्यालाई लेखकले आत्मिक परिपक्वताको माध्यमको रूपमा देखाउँछन्, किनकि कठिनाइले मानिसलाई नम्र बनाउँछ, परमेश्वरमा निर्भर बनाउँछ, र चरित्र निर्माण गर्छ; यो शिक्षा याकूब १:२–४ र रोमी ५:३–५ सँग मेल खान्छ, जहाँ परीक्षाले धैर्य र चरित्र उत्पन्न गर्छ भन्ने उल्लेख छ। लेखकले शिष्यत्वलाई केवल ज्ञान प्राप्त गर्ने प्रक्रिया नभई जीवन परिवर्तन हुने प्रक्रिया भनेर व्याख्या गर्छन्, जसमा मानिसको सोचाइ, मूल्य, इच्छा, र व्यवहार क्रमशः ख्रीष्टको जस्तै बन्न जान्छ। ख्रीष्टियन विश्वास केवल doctrinal assent होइन, transformational faith हो।

            चौथो उद्देश्य “मानिस परमेश्वरको सेवा गर्न बनाइएको हो” भन्ने विषयमा आधारित छ, जसले सेवकाई (सेवाकार्य) को महत्वलाई उजागर गर्छ; लेखकले सेवकाईलाई केवल चर्चको मञ्चमा हुने कामको रूपमा नहेरी विश्वासीको सम्पूर्ण जीवनको calling को रूपमा प्रस्तुत गर्छन्। यस सन्दर्भमा उनले प्रत्येक विश्वासीलाई “सेवक” (servant) को रूपमा चित्रण गर्छन् र बताउँछन् कि परमेश्वरले सबैलाई कुनै न कुनै वरदान र क्षमता दिनुभएको छ ताकि उनीहरूद्वारा चर्च र समाजमा परमेश्वरको प्रेमको सेवा प्रकट होस्। लेखकले SHAPE अवधारणा (Spiritual gifts, Heart, Abilities, Personality, Experiences) प्रस्तुत गर्दै बताउँछन् कि सेवकाई पहिचान गर्न मानिसले आफ्नो आत्मिक वरदान, मनको इच्छा, प्राकृतिक क्षमता, व्यक्तित्व, र जीवनका अनुभवहरू बुझ्नुपर्छ। यो अवधारणा बाइबलको spiritual gifts teaching (१ कोरन्थी १२, Romans १२, Ephesians ४) सँग मेल खान्छ, जहाँ परमेश्वरले चर्च निर्माणका लागि विभिन्न वरदानहरू दिनुभएको बताइएको छ। लेखकले सेवा गर्ने जीवनको महत्वलाई स्पष्ट गर्दै बताउँछन् कि सेवा नै साँचो महानता हो, किनकि येशूले “जो महान हुन चाहन्छ, त्यो सेवक बनोस्” (Mark १०:४३–४५) भन्नुभएको छ; येशू स्वयंले पनि मानिसको सेवा गर्न आउनुभएको र आफ्नो जीवन धेरैको लागि फिरौतीको रूपमा दिनुभएको सत्यलाई लेखकले उदाहरणका रूपमा प्रस्तुत गर्छन्। यस उद्देश्यले पाठकलाई आत्मकेन्द्रित जीवनबाट बाहिर निकाल्दै अरूको हितका लागि आफ्नो जीवन खर्च गर्ने सेवक जीवनतर्फ डोर्‍याउँछ। पाँचौँ उद्देश्य “मानिस परमेश्वरको मिशनका लागि बनाइएको हो” भन्ने विषयमा आधारित छ, जसले ख्रीष्टियन जीवनको बाह्य पक्ष अर्थात् evangelism र मिशन theology लाई प्रस्तुत गर्छ; लेखकले स्पष्ट गर्छन् कि हरेक विश्वासीले संसारमा सुसमाचार पुर्‍याउने जिम्मेवारी पाएको छ, किनकि येशू ख्रीष्टले महान आदेश (मत्ती २8:१9–२०) दिँदै चेला बनाउने कार्य प्रत्येक चेलाको कर्तव्य बनाउनु भएको छ। लेखकले सेवाकार्य र मिशन बीच भिन्नता गर्दै बताउँछन् कि सेवाकार्य चर्चभित्रका विश्वासीहरूलाई सेवा गर्ने कार्य हो भने मिशन चर्चबाहिरका अविश्वासीहरूलाई ख्रीष्टको सन्देश पुर्‍याउने कार्य हो। यसरी मिशनको उद्देश्यले विश्वासीलाइ केवल चर्चभित्र सीमित नबनाई संसारमा परमेश्वरको प्रतिनिधि बनाउँछ; प्रेरित पावलले २ कोरन्थी ५:२० मा “हामी ख्रीष्टका दूत हौं” भनेको शिक्षालाई लेखकले जोड दिन्छन्। मिशनको उद्देश्यले विश्वासीलाई आफ्नो जीवनको गवाही, व्यवहार, वचन, र सेवाबाट संसारलाई येशू ख्रीष्टको प्रेम देखाउन प्रेरित गर्छ। लेखकका अनुसार परमेश्वरले हरेक मानिसलाई फरक स्थान, फरक संस्कृति, फरक परिवार, र फरक समुदायमा राख्नु भएको छ ताकि उनीहरूले त्यही स्थानमा परमेश्वरको प्रेमको प्रकाश फैलाउन सकून्। यसले नेपाली चर्च सन्दर्भमा अत्यन्त महत्वपूर्ण अर्थ राख्छ, किनकि नेपालमा सुसमाचार प्रचार अझै चुनौतीपूर्ण छ र विश्वासीहरूले आफ्नो गवाही र प्रेमपूर्ण व्यवहारद्वारा समाजमा ख्रीष्टको साक्षी दिनुपर्ने आवश्यकता छ। पुस्तकमा प्रस्तुत पाँच उद्देश्यहरूलाई लेखकले केवल सिद्धान्तको रूपमा छोडेका छैनन्, बरु प्रत्येक उद्देश्यलाई जीवनमा लागू गर्ने व्यावहारिक उपायहरू पनि दिएका छन्, जसले पुस्तकलाई devotional र चेलापन training manual दुबै बनाएको छ। पुस्तकको अर्को उल्लेखनीय पक्ष भनेको यसको प्रेरणादायी र सरल भाषा हो, जसले कठिन थियोलोजिकल सत्यलाई सामान्य पाठकले पनि बुझ्ने गरी प्रस्तुत गरेको छ; तर अकादमिक दृष्टिले हेर्दा यस सरलतामा केही सीमितता पनि देखिन्छ ।

             यस पुस्तकलाई चेलापनको रूपमा प्रयोग गर्न सक्छ, किनकि यसले ख्रीष्टियन जीवनका मुख्य विषयहरूलाई व्यवस्थित ढंगले प्रस्तुत गर्छ। पुस्तकमा लेखकले चर्चको भूमिका, विश्वासीको पहिचान, आत्मिक वरदान, र मिशनरी जीवनलाई अत्यन्त महत्व दिएका छन्, जसले स्थानीय चर्चलाई उद्देश्यमा आधारित भएर निर्माण गर्न प्रेरणा दिन्छ। नेपाली चर्च सन्दर्भमा हेर्दा, यो पुस्तक अत्यन्त उपयोगी देखिन्छ, किनकि धेरै विश्वासीहरू चर्चमा नियमित उपस्थित भए तापनि उद्देश्यबोध कमजोर देखिन्छ, सेवकाईमा सक्रियता कम देखिन्छ, र चेलापनको प्रक्रिया व्यवस्थित छैन; यस्तो अवस्थामा “उद्देश्य प्रेरित जीवन” पुस्तकले चर्चलाई शिष्यत्व केन्द्रित बनाउने, विश्वासीलाइ सेवामा उभ्याउने, र मिशनरी दृष्टिकोण जगाउने साधन बन्न सक्छ। यस पुस्तकले विशेष गरी युवाहरूलाई जीवनको दिशाहीनता, निराशा, र खालीपनबाट निकालेर परमेश्वरको उद्देश्यमा स्थिर बनाउने सम्भावना राख्छ, किनकि आजको पुस्ता धेरै प्रतिस्पर्धा, बेरोजगारी, र सामाजिक अस्थिरताबीच जीवनको अर्थ खोज्दै छ; यस अवस्थामा लेखकले प्रस्तुत गरेको परमेश्वर केन्द्रित उद्देश्यले युवालाई आत्मिक स्थिरता र आशा दिन सक्छ। पुस्तकको मूल्याङ्कन गर्दा यसको सबैभन्दा ठूलो योगदान यही देखिन्छ कि यसले पाठकलाई जीवनको अर्थ केवल सांसारिक उपलब्धिमा होइन, परमेश्वरको इच्छामा रहेको कुरा बुझाउँछ ।

            पाँच उद्देश्यहरूद्वारा ख्रीष्टियन जीवनको सम्पूर्ण रूपरेखा प्रस्तुत गर्छ, जसले आराधना, संगति, चेलापन, सेवकाई, र मिशनलाई एकीकृत रूपमा देखाउँछ। यद्यपि पुस्तकमा केही आलोचना पनि गर्न सकिन्छ, जस्तै यसमा प्रयोग गरिएका उदाहरणहरू धेरैजसो पश्चिमी समाजको सन्दर्भमा आधारित छन् र कतिपय ठाउँमा उत्प्रेरणा शैली बढी देखिन्छ, तर यसको मूल सन्देश बाइबलमा आधारित भएकाले यसको प्रभाव र उपयोगिता कम हुँदैन। यस पुस्तकको अध्यायगत अध्ययन गर्दा देखिन्छ कि सुरुवाती अध्यायहरूले उद्देश्य खोज्ने आधार निर्माण गर्छन्, जहाँ लेखकले मानिसको जीवन परमेश्वरबाट सुरु हुन्छ भन्ने स्थापित गर्छन्; त्यसपछि आराधना सम्बन्धी अध्यायहरूमा मानिसको हृदय परमेश्वरको प्रेम र महिमाका लागि बनाइएको कुरा स्पष्ट पारिन्छ; त्यसपछि संगती सम्बन्धी अध्यायहरूमा चर्चको सामुदायिक जीवन र प्रेमपूर्ण सम्बन्धको महत्व प्रस्तुत गरिन्छ; त्यसपछि चेलापन सम्बन्धी अध्यायहरूमा परमेश्वरले मानिसलाई ख्रीष्टको स्वरूपमा परिवर्तन गर्ने प्रक्रिया, दुःखको उद्देश्य, आत्मिक अनुशासन, र पवित्र आत्माको कार्यलाई देखाइन्छ; त्यसपछि सेवाकार्य सम्बन्धी अध्यायहरूमा आत्मिक वरदान, SHAPE, सेवकको मनोवृत्ति, र चर्चभित्र सेवा गर्ने जिम्मेवारी प्रस्तुत गरिन्छ; र अन्ततः मिशन सम्बन्धी अध्यायहरूमा सुसमाचार प्रचार, गवाही, महान आदेश, संसारमा परमेश्वरको प्रतिनिधित्व, र चेला बनाउने कार्यलाई प्राथमिकताको रूपमा प्रस्तुत गरिन्छ। पुस्तकको अन्तिम अध्यायहरूमा लेखकले पाठकलाई आफ्नो जीवनको उद्देश्यमा प्रतिबद्ध हुन, आफ्नो जीवनलाई परमेश्वरको हातमा समर्पण गर्न, र उद्देश्यपूर्ण जीवनको प्रतिबद्धता कायम राख्न चुनौती दिन्छन्, जसले पुस्तकलाई केवल पढ्ने पुस्तक नभई निर्णय र समर्पणको पुस्तक बनाउँछ।

क्र.सं.उद्देश्य (Purpose)नेपाली अर्थमुख्य बाइबल शिक्षाछोटो व्याख्या
1Worshipआराधनामत्ती 22:37परमेश्वरलाई प्रेम गर्नु र उहाँको महिमा गर्नु
2Fellowshipसंगतिप्रेरित 2:42विश्वासीहरूसँग एकता र संगति राख्नु
3Discipleshipचेलापनमत्ती 28:19-20आत्मिक रूपमा बढ्दै जानु र ख्रीष्टजस्तै बन्नु
4Ministryसेवा१ पत्रुस 4:10अरूलाई सेवा गरेर परमेश्वरको प्रेम देखाउनु
5Evangelismसुसमाचार प्रचारमत्ती 28:19अरूलाई येशू ख्रीष्टको सन्देश सुनाउनु

 निष्कर्ष

उद्देश्य प्रेरित जीवन पुस्तकले ख्रीष्टियन जीवनको समग्र उद्देश्यलाई अत्यन्त सरल तर गहिरो रूपमा प्रस्तुत गरेको छ, जसले मानिसलाई आत्मकेन्द्रित जीवनबाट परमेश्वर केन्द्रित जीवनतर्फ उन्मुख गराउँछ; यस पुस्तकले सिकाउँछ कि मानिसको जीवनको उद्देश्य परमेश्वरको आराधना गर्नु, परमेश्वरको परिवारमा सहभागी हुनु, ख्रीष्टजस्तै बन्नु, परमेश्वरको सेवामा लाग्नु, र परमेश्वरको मिशन संसारमा पुर्‍याउनु हो, र यी उद्देश्यहरू जीवनमा लागू नगरेसम्म मानिसको जीवन अपूरो र दिशाहीन रहन्छ। यसैले विद्यार्थीहरू, पास्टरहरू, सेवकहरू, र सामान्य विश्वासीहरू सबैका लागि यो पुस्तक अत्यन्त उपयोगी र मार्गदर्शक पुस्तक हो, किनकि यसले व्यक्तिगत आत्मिक जीवन मात्र होइन, चर्चको सामूहिक उद्देश्य र संसारप्रतिको जिम्मेवारीलाई पनि स्पष्ट पार्छ। यो पुस्तकको अन्तिम सन्देश यही हो कि जीवन केवल केही वर्षको यात्रामा सीमित छैन; जीवन अनन्तताको तयारी हो, र मानिसले आफ्नो जीवन परमेश्वरको महिमाका लागि समर्पण गरेर मात्र साँचो उद्देश्यपूर्ण जीवन जिउन सक्छ; यसकारण लेखकको मुख्य विचारलाई संक्षेपमा भन्नुपर्दा यस्तो हुन्छ

“तपाईंको जीवन तपाईंको लागि होइन, परमेश्वरको महिमाको लागि हो।”

संक्षिप्त बुझाइ

  • आराधना (Worship): हामी परमेश्वरको लागि बनाइएका हौं।
  • संगति (Fellowship): हामी परिवारजस्तै संगति गर्न बनाइएका हौं।
  • चेलापन (Discipleship): हामी ख्रीष्टजस्तै बन्न बनाइएका हौं।
  • सेवा (Ministry): हामी अरूको सेवा गर्न बनाइएका हौं।
  • सुसमाचार (Evangelism): हामी परमेश्वरको सन्देश फैलाउन बनाइएका हौं।

पुस्तक खरिद गर्न चाहानुहुन्छ भनी यस लिंकमा थिच्न सक्नुहुन्छ। Click Here


  • परमेश्वर को हुनुहुन्छ ?

    परमेश्वर को हुनुहुन्छ ?

    बाइबलअनुसार परमेश्वरबारे अध्ययन धर्मशास्त्रको आधारभूत र अत्यन्त महत्वपूर्ण विषय हो, जसले परमेश्वर को हुनुहुन्छ, उहाँको स्वभाव, गुण, कार्य, र मानिससँगको सम्बन्धलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ । बाइबलले सिकाउँछ कि परमेश्वर एक हुनुहुन्छ (व्यवस्था ६:४) र उहाँ आत्मा हुनुहुन्छ (यूहन्ना ४:२४) । यसको अर्थ परमेश्वर कुनै भौतिक सीमामा बाँधिनुहुन्न, तर अनन्त, अदृश्य र आत्मिक अस्तित्व हुनुहुन्छ…

  • पञ्च पुस्तकका परिचय र महत्वहरू

    पञ्च पुस्तकका परिचय र महत्वहरू

    पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ । बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ । जुन ख्रीष्टियनहरुको पुरानो करार पहिलो पाँच पुस्तकहरु र यहुदीहरुको धर्मग्रन्थ तोरह हो । तोरहको शब्दको अर्थ ‘शिक्षा, सिद्धान्त वा अर्ती’ भन्ने हुन्छ । मोशाको पुस्तकमा पाँचओटा…

  • पञ्च पुस्तकको परिचय

    पञ्च पुस्तकको परिचय

    पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ । बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ । जुन ख्रीष्टियनहरुको पुरानो करार पहिलो पाँच पुस्तकहरु र यहुदीहरुको धर्मग्रन्थ तोरह हो । तोरहको शब्दको अर्थ ‘शिक्षा, सिद्धान्त वा अर्ती’ भन्ने हुन्छ । मोशाको पुस्तकमा पाँचओटा…

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.