जब पवित्र धर्मशास्त्र बोल्दछ...

परमेश्वरको अस्तित्वका लागि प्रमाणहरू

परमेश्वर हुनुहुन्छ ?
God existion

     

               २१ औँ शताब्दीको अति प्रगतिशील र सूचनाको युगमा रहेर पनि परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नु मुर्खता होइनन् र ? भौतिक उन्नतिले आजको विश्वमा पनि परमेश्वरको अस्तित्वमाथि विश्वास गर्नु भनेको अज्ञानता हो भन्ने धेरै भौतिकवादी व्यक्तिहरू भेटिन्छन् । जब जब रस्हयका तथ्यहरू खोलिदै जान्छ तब मानिसहरू परमेश्वरको अस्तित्व देखि टाढा गइरहेको समाज हामीहरूको बीचमा रहेको छ । धर्म भित्र रहेका विभिन्न अन्धविश्वासहरूलार्इ वैज्ञानिक खोज तथा अनुसन्धानले गलत प्रमाणित गरिदिएपछि मानिसहरूले परमेश्वरको अस्तित्वमाथि प्रश्न उठाउन थाले र परमेश्वरको अस्तित्वलार्इ पूर्ण रूपमा इन्कार गर्ने समाजको सृजना भयो । यस सम्पूर्ण व्राह्माण्ड कुनै र्इश्वरले सृष्टि नगरि आफै कुनै समय अस्तित्वमा आएको थियो भनेर विश्वास गर्दछन् । संसारको कुन जनसंख्या मध्ये २४.२ प्रतिशत मानिसहरू धर्ममा कुनै आव आबद्ध नभएको भनी भन्छन्[1] भनी परमेश्वर नै छैन भन्ने व्यक्तिहरूको जनसंख्या ७ प्रतिशत अर्थात ४५ देखि ५० करोडको बिचमा रहेको पाइन्छ ।[2] परमेश्वरको अस्तित्वमाथि विश्वास विश्वास नराख्ने व्यक्तिहरूलार्इ नास्तिक भनिन्छ ।[3] जसले परमेश्वरको अस्तित्वलाई निश्चित रूपमा जान्न नसकिने वा निश्चय नभएको भन्ने मान्दछ; यस्तो समुहलार्इ अज्ञेयवादी (Agnostic) भनिन्छ ।[4] कुनै पनि धार्मिक विश्वासमा ऐक्यबद्ध नहुने, विशेष रूपमा परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने व्यक्ति वा समुहलार्इ अविश्वासी (Nonbeliever/non-believer)  भनिन्छ ।[5] परमेश्वर विश्वासको धारणा प्रश्न वा अस्वीकृत गर्ने व्यक्ति वा समुहलार्इ नन्थियिस्ट (Nontheistic)  भनिन्छ ।[6] व्यक्ति जसले धार्मिक विचार/परम्परागत विश्वासलाई कारण र तर्कले परीक्षण गरेर  स्वीकार गर्दैन, र धार्मिक सिद्धान्तहरूलाई तार्किक आधार बिना मान्दैन, त्यस्तो व्यक्ति वा समुहलार्इ स्वतन्त्र विचारक (Freethinker) भनिन्छ ।[7] धार्मिक विश्वास वा आध्यात्मिकता नलिने, धर्मसँगै नजोडिने/निरपेक्ष व्यक्तिहरू वा दृष्टिकोणलार्इ धार्मिकता बाहिरका वा धार्मिक निरपेक्षता (Secular) भनिन्छ ।[8] यस्ता समुहहरूले परमेश्वरको अस्तित्वलार्इ स्वीकार गर्दैनन् ।

               दुःख, पीडा र अन्यायको समस्या, वैज्ञानिक व्याख्या र प्रमाणको माग, धार्मिक संस्था वा धार्मिक अगुवाबाट निराशा, धार्मिक विविधता र विरोधाभास, सांस्कृतिक वा पारिवारिक प्रभाव आदि कारणहरूले परमेश्वरको अस्तित्वमाथि मानिसहरूले विश्वास गर्दैनन् । वास्तवमा के उनीहरूले विश्वास नगर्दैमा परमेश्वर साँच्चै हुनुहुन्न त ? उहाँको अस्तित्वको प्रमाणहरू के हामीहरूसँग छ त ? किन कुनै कुनै धार्मिक र आध्यात्मिक व्यक्ति पनि कुनै मोडमा गएर परमेश्वरको अस्तित्व माथि विश्वास गर्दैनन् ? यस्ता प्रश्नहरूले कहिले काहिँ हामीलार्इ साँच्चै सोच्न बाध्य बनाउँछ  ‘के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? उहाँको अस्तित्वका प्रमाणहरू छ ?’

               यस अनुसन्धान पत्रमा परमेश्वरको अस्तित्वका लागि बाइबलीय प्रमाण र बाइबल भन्दा बाहिर रहेका प्रमाणहरूको बारेमा अध्ययन गर्नेछौँ । धर्मशास्त्रीय र दार्शनिक दृष्टिकोणबाट यस अनुसन्धान पत्रमा परमेश्वरको अस्तित्वको प्रमाण पेश गरिएको छ, जसले कुनै पनिलार्इ परमेश्वर वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिनेछ । दोमन भएकाहरूलार्इ एउटा निश्चित मार्ग प्रदान गर्ने छ ।

रूपरेखा

  1. परमेश्वरको परिचय
  2. परमेश्वरको  अस्तित्वको परिचय
  3. परमेश्वरको अस्तित्वका प्रमाणहरू
  4. ब्रह्माण्डको तर्क
  5.  उद्देश्यको तर्क
  6. मानवशास्त्रको तर्क
  7. सत्व शास्त्रको तर्क
  8. नैतिकताको तर्क
  9. विवेकबाट प्रमाण
  10. जीवनको आधारमा तर्क
  11. मानवविज्ञान सम्बन्धी तर्क
  12. निष्कर्ष

परिचय

                हामीले कहिल्यै नदेखेको, नछुएको वा अनुभव नगरेको थोकमा विश्वास गर्न मानिसहरूलाई प्रायः गाह्रै पर्छ । यसैले परमेश्वरको अस्तित्वमाथि विश्वास गर्न केही कठिनाइ सबैलार्इ हुन्छ । धर्मशास्त्र बाइबल परमेश्वरको अस्तित्वलाई प्रमाण गर्ने पाठ्य-पुस्तक होइन यसले त परमेश्वर हुनुहुन्छ भन्ने सकारात्मक सत्य मात्र प्रकट गर्ने गर्दछ । धर्मशास्त्रले भन्दछ, भजन १९:१, “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ । र आकाश मण्डलले उहाँको हातको सीप प्रकट गर्छ ।” आकाश मण्डलको सुन्दरता र महिमाले जोडसँग चिच्याइरहेछ, ‘परमेश्वर जीवित हुनुहुन्छ ।’ रोमी १:२० अनुसार, सृष्टिले परमेश्वरको अनन्त शक्ति पनि प्रकट गरेको छ । “किनकि उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्ग देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन ।” यसैले जसले पवित्र धर्मशास्त्र बाइबललाई स्वीकार गर्छ त्यस व्यक्तिले परमेश्वरको अस्तित्वलाई सहजै स्वीकार गर्छ ।[9] परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा बुझाउनको निम्ति हामीलाई शास्त्रमा भएका कारणहरूबाहेक अन्य कुनै पनि कारणहरूका आवश्यकता नपर्ने भए तापनि, परमेश्वरमाथि विश्वास राख्ने कुरामा बाधा दिने कुरालाई हटाउन मद्दत पुग्ने केही थप शास्त्रभन्दा बाहिरका तर्कहरू रहेका छन् । यी तर्कहरूले परमेश्वर अस्तित्वमा हुनुभएको कुरामाथि विश्वास गर्न राम्रो तर्कलाई प्रदर्शन गर्दछन् ।[10]

ब्रह्माण्डको तर्क

ग्रीक शब्द “cosmos” (ब्रहाण्ड) को अर्थ “संसार” हो। ब्रह्माण्डको तर्कले  संसारलाई हेर्दछ र कार्य कारणको नियमबाट तर्क पेश गर्दछ। कार्यको अस्तित्वले यसको कारणको अस्तित्व देखाउँछ । संसार यहाँ छ । यसले प्रश्न उत्पन्न गर्दछ, “यो कसरी हुन आयो ?” कुनै कुरा, वा कुनै व्यक्तिले यसलाई अस्तित्वमा आउने कारण गरायो । मानिसले यस संसारमा आफ्नो अस्तित्व पछाडि कुनै कारण नभएको कुनै कुराबारे जान्दैन। यसरी उसले बुझ्नु पर्दछ, संसार र त्यस वरिपरिको ब्रम्हाण्डकै पछाडि एउटा कारण छ। पहिलो कारण परमेश्वर, अर्थात् सृष्टिकर्तामा हेर्नुपर्दछ (उत्पत्ति १:१; भजन १९:१-६ ।[11] ब्रह्माण्डमा थाहा पाइने प्रत्येक कुराको कुनै कारण रहेको छ भन्ने यथार्थ सँगै ब्रह्माण्डको तर्कको थालनी हुन्छ । सृष्टिको कुनै कारण हुनुपर्दछ भन्ने तर्क यसले दिन्छ । यस्तो सुन्दर तथा रमणीय सृष्टिको कारण अरू कोही नभई, सृष्टिकर्ता परमेश्वर हुनुपर्दछ । यो तर्कलाई बाइबलमा पनि पाउन सक्छौं (हिब्रू ३:४)।[12] यस तर्कले संसारमा भएको सबै थोक एउटा न एउटा कारणले अस्तित्वमा  छ भनि विचार गर्दछ । यदि संसारका थोकहरू अस्तित्वमा आफैमा आउँदैनन् तर अरू कसैको कारणले आउँछन् भने, यो ब्रह्माण्डको अस्तित्व पनि यस ब्रह्माण्ड भन्दा बाहेकको हुनुपर्छ । ब्रह्माण्ड भन्दा माथिको परमेश्वर मात्र हुनुहुन्छ त्यसैले यस ब्रह्माण्डको अस्तित्व परमेश्वरको कारणले मात्र सम्भव छ। यस ब्रह्माण्डको अस्तित्व भएकोले परमेश्वरको पनि अस्तित्व छ र हुनुपर्छ। यस तर्कले परमेश्वरको विभिन्न गुणहरू तथा उहाँको इच्छा योजनाको बारेमा केही नभनेको भएपनि परमेश्वरको अस्तित्वलाई सकारात्मक तरिकाले बिचार गर्न सिकाउँछ ।[13] ब्रह्माण्ड कसैले वा कुनै थोकले यसको अस्तित्व कायम गरेको हुनुपर्दछ । अहिले हामीसँग एउटा पुस्तक छ । यो कसैले लेखेको हुनुपर्छ । नत्र जतिकै आधुनिक यन्त्रले पनि स्वतः कुनै पुस्तक कहिल्यै उत्पादन गर्न सक्तैन । कुनै घडीका पुर्जाहरूलाई एउटा भाँडोमा हालेर लाखौं वर्ष त्यस भाँडोलाई बिस्तारै हल्लाइरहे तापनि ती पुर्जाहरू आफै जोडिएर कंदापि घडी बनिने अनि चल्ने छैन । संसारको अस्तित्वसम्बन्धी प्रश्नको एउटै अर्थपूर्ण उत्तर यही हुन्छ कि यो संसार बनाउने कुनै सर्वशक्तिमान् व्यक्ति हुनुहुन्छ जसलाई हामी परमेश्वर भनी पुकार्दछौं । विश्वमा जानिएको प्रत्येक थोकको एउटा कारण छ। त्यसकारण, यसले यो तर्क गर्छ कि विश्वकै पनि एउटा कारण हुनैपर्दछ अनि यस्तो विराट् विश्वको कारण परमेश्वर मात्र हुन सक्नुहुन्छ छ ।[14]

image

 

उद्देश्यको तर्क

यो तर्क ब्रह्माण्डको तर्कसँग सम्बन्धित छ जस अनुसार संसारका सबै थोक मिलाएर राखेको देखिन्छ र त्यसरी नै चल्दछन। उदाहरणको लागि ऋतुहरू, सुर्य र चन्द्रमाले बनाउने दिनरात, वर्ष, रुख-बिरुवाको फल्ने फुल्ने समय, जनावरहरूको मौसम अनुसारको क्रियाकलाप, आदि विचार गर्दा यस संसारमा कसैले कुनै उद्देश्य राखेर मिलाएर बनाएको भनि तर्क गर्न सकिन्छ। संसार आफैले यसरी मिलाउन सक्दैन र संसारको सबै थोक मिलाउने पक्कै पनि एक सर्वज्ञानी परमेश्वर हुनुपर्छ। यस तर्कले परमेश्वरको प्रेम र अनुग्रहलाई प्रकाश नपारे पनि परमेश्वरमा भएको सर्वोच्च ज्ञान र शक्तिलाई देखाउँछ।[15] उद्देश्यले विश्वमा भएको सामञ्जस्य, सुव्यवस्था, र ढाँचामा ध्यान केन्द्रित गर्छ र यो तर्क गर्छ कि यसको ढाँचाले बुद्धिमान् उद्देश्यको प्रमाण दिँदछ (ग्रीक शब्द telos-को अर्थ “ध्येय” वा “लक्ष्य” वा “उद्देश्य” हो। विश्व एउटा उद्देश्यसित बनाइएको देखिने हु‌नाले एक बुद्धिमान् र उद्देश्ययुक्त परमेश्वर हुनैपर्दछ जसले यसलाई यसरी कार्यरत रहनलाई सृष्टि गर्नुभयो।[16] । संसारमा भएका साना-ठूला चीजहरूलाई देख्दा हाम्रो विवेकले स्वतः स्वीकार गर्छ, कुनै पनि ज्ञानी सत्ताले विशेष उद्देश्य राखेर नै ती थोकहरू बनाएका हुन् । रङ्गीन पक्षीहरू वा पशुहरूको बनावटको उपाय संयोगवश हुन आएको होइन । यी सब सृष्टिकर्ताको सर्वोत्तम मनको योजना हो ।[17] उद्देश्यको तर्क जसलाई घडी बनाउनेको तर्क भनेर पनि चिनिन्छ । यसलेले ब्रम्हाण्डमा भएको कुराहरूको क्रम, एकरूपता तथा ढाँचालाई केन्द्रीत गर्दछ र यस्तो ढाँचाले यसको निर्माण गर्नेलाई सङ्केत गर्दछ भनी बहस गर्दछ । ब्रम्हाण्ड उद्देश्यसाथ निर्माण भएको हुनाले, त्यस्तो प्रकारले सञ्चालन हुने ब्रम्हाण्डलाई बुद्धिमानी तथा उद्देश्यपूर्ण परमेश्वरले बनाएको हुनुपर्दछ ।[18] प्रेरित १४:१७ ले बताउँछ कि परमेश्वरले आफैलाई कुनै गवाहीबिना छोड्नुहुन्न किनकि उहाँले पानी पठाउनुहुन्छ र खानालाई भोजन दिनुहुन्छ । जब मानिसहरूले सृष्टि गरिएको ब्रह्माण्डलाई देख्छन्, तब यसको निर्माणकर्ता कोही न कोही भएको हुनुपर्दछ भन्ने कुरा स्वभाविक रूपले नै थाहा गर्दछन् । यदि तपाईले एउटा घडीलाई तपाईको गाउँभन्दा बाहिर फ्याँकिएको भेट्टयाउनुभयो भने, त्यसलाई निर्माणकर्ताले बनाएको हुनुपर्दछ भनी निश्चित रूपमै अनुमान लगाउनुहुन्छ । त्यसबाहेक घडी कसरी बन्न सक्छ होला त ? त्यसैकारणले यदि त्यहाँ घडी छ भने त्यसलाई बनाउने पनि कोही हुनुपर्दछ भनेर अनुमान गर्नु उचित कारण हो ।[19] यस तर्क ढाँचा र उद्देश्यहरूबाट प्रस्तुत गरिने तर्क हो । संसार र ब्रम्हाण्डको अस्तित्व मात्र छैन, तर यसको एउटा सिद्ध ढाँचा, योजना पनि छ । यसका तत्वहरूले तिनीहरूको भूमिकाको निम्ति एउटा उद्देश्य प्रष्ट पार्दछन् र तिनीहरू एक अर्कासँग सामञ्जस्यमा रहन्छन् । घाँसको प्रत्येक सुइरो, प्रत्येक हिम कण भिन्न तर सिद्ध ढाँचाझै देखिन्छन् । योजनाले योजनाकारको अस्तित्व प्रमाणित गर्दछ ।

image 1

सृष्टिमा उद्देश्यपूर्ण सृष्टिकर्तृत्वलाई उद्देश्यले प्रकट गर्दछ र त्यसको तर्क दिन्छ । कोही निर्माण गर्ने मानिस नभइकन के त्यहाँ भवन हुनसक्छ ? घडी बनाउने व्यक्तिबिना घडी हुनसक्छ ? एक नियन्त्रकबिना विश्व ब्रम्हाण्ड हुनसक्छ ? सृष्टिकर्ताबिना सुव्यवस्थित सृष्टि हुनसक्छ ? मन (दिमाग) बिना बौद्धिक व्यवस्था हुनसक्छ ? व्यवस्था दिने नभइकन व्यवस्था हुनसक्छ ? ढाँचा र उद्देश्यका तर्कले ब्रम्हाण्डभन्दा महान् अनन्त बौद्धिक अस्तित्वको सत्तालाई प्रमाणित गर्दछ ।[20]

मानवशास्त्रको तर्क

यो तर्क सम्पूर्ण ब्रह्माण्डलाई नहेरी मानिसमा मात्र केन्द्रित छ, किनभने मानिस अन्य प्राणी भन्दा फरक ज्ञानी, नैतिकवान, संवेदनसिल र इच्छा योजना अनुसार चल्दछ भन्ने तर्क लिइ लिइन्छ। मानिसका यी विशेष गुणहरूले परमेश्वर जो ज्ञानी, नैतिकवान, संवेदनसिल र योजनाकार हुनुहुन्छ उहाँबाट आएको हुन्। बाइवल अनुसार नै मानिसलाई परमेश्वरले आफ्नो स्वरूपमा बनाउनुभएको कारणले मानिस अन्य सृष्टि भन्दा फरक र विशेष भएको हो (उत्पत्ति १:२६)। त्यसैले परमेश्वरको अस्तित्वले नै मानिसको अस्तित्वको अर्थ राख्छ। यस तर्कले परमेश्वरको सम्बन्धमा मानिसको विशेषता देखाउँछ भने परमेश्वरले मानिसको लागि विशेष योजना बनाउनुभएको बारेमा पनि तर्क प्रदान गर्दछ ।[21]

image 2

सत्व शास्त्रको तर्क

 यो संसारमा भएका थोकहरूलाई विचार गरेर नबनाइएको तर मानिसको सोचाइमा मात्र आधारित तर्क हो। जस अनुसार सबै मानिसको विचार गर्न सक्ने सबैभन्दा महान् कुरा केही छ भने त्यो परमेश्वर नै हुनुपर्छ किनभने संसारमा परमेश्वर भन्दा महान् कोही छैन। मानिसले परमेश्वर भन्दा महान् कुराको परिकल्पना नै गर्न सक्दैन। परमेश्वरले नै यो महानताको विचार मानिसमा राख्खुहुन्छ । यो तर्कले नास्तिकहरुलाई परमेश्वरमा विश्वास गर्न भन्दा परमेश्वरको अस्तित्वमा विश्वास गर्नेहरुलाई उहाँ हुनुहुन्छ र हुनुपर्छ भनेर विश्वस्त हुन सहायता गर्दछ। यस तर्क आफैमा विचारमा मात्र सीमित भएको कारण परमेश्वरको विभिन्न गुणहरूबारे यसले कुनै तर्क वा ज्ञान प्रदान गर्दैन।[22] परमेश्वर एक यस्तो अस्तित्व हुनुहुन्छ जो “कल्पना गर्न सकिने कुनै पनि थोकभन्दा महान् हुनुहुन्छ” भनी परिभाषित गरिएको छ। त्यसपछि यसले तर्क गर्छ कि अस्तित्वको गुण यस्तै व्यक्तिको हुनैपर्दछ, किनभने अस्तित्वमा नहुनुभन्दा अस्तित्वमा हुनु महान् कुरा हो ।[23]

image 3

नैतिकताको तर्क

 यो तर्क मानवशास्त्रको तर्कसँग मिल्दो जुल्दो छ र मानव समाजलाई विचार गर्दछ। मानव समाजमा के खराब र के सहि भन्ने नैतिक ज्ञानको अस्तित्व देखिन्छ र सोही अनुसारको क्रियाकलाप समाजमा अपेक्षा गरिएको हुन्छ। मानव समाजमा भएको यस्तो नैतिक ज्ञान प्रकृतिबाट आफै आउने नभइ परमेश्वरले नै मानिसमा राखुहुन्छ। परमेश्वरको अस्तित्व भयो भने नै के सहि के खराब ले अर्थ राख्छ । यस तर्कले परमेश्वरको अस्तित्वलाई देखाउने मात्र नभइ मानिसले परमेश्वरको कारणले कस्तो जीवन यापन गर्नु पर्छ भन्ने पनि देखाउँछ ।[24] नैतिकताको आधारमा तर्क मानिसको बौद्धिक र नैतिक स्वभावैले सृष्टिकर्ता कुनै निर्जीव शक्ति नभएर एक जीवित, बौद्धिक, नैतिक व्यक्ति हुनुहुन्छ भन्ने बुझाउँछ । उत्पत्ति १:२६, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ।” उत्पत्ति १:२७, “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।” भजन ९४:९, “के कान दिनेले सुन्नुहुन्न र ? के आँखा दिनेले देख्नुहुन्न र ?” परमेश्वरले मानिसलाई कानहरू, आँखाहरू, ज्ञान-बुद्धि अनि इच्छा-शक्ति दिनुभयो किनभने यी कुराहरू नै उहाँका हुन् । विवेकले मानिसलाई उचित र अनुचित, असल र खराब कुरा सिकाउँछ किनभने सृष्टिकर्ता पवित्र नैतिक व्यक्ति हुनुहुन्छ जसले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ ।[25] नैतिक (moral) तर्क ठीक र बेठीकबारे मानिसको चेतनाबाट, र न्याय गर्नुपर्ने आवश्यकताको चेतनाबाट आरम्भ हुँदछ, अनि यसले यो तर्क गर्दछ कि परमेश्वर हुनैपर्दछ जो ठीक र बेठीक कुराको स्रोत हुनुहुन्छ अनि जसले कुनै दिन सबै मानिसहरूलाई न्याय दिनुहुनेछ ।[26] यो तर्क हरेक समुदायमा सही र गलत तथा न्यायलाई कायम राख्ने आधारभूत विचारको विश्वव्यापी धारणा रहेको हुन्छ भन्ने यथार्थतामा आधारित छ । शास्त्रले यो पुष्टि गर्दछ जब गैरयहूदीहरू जोसँग परमेश्वरको व्यवस्था छैन, प्राकृतिलाई हेरेर उनीहरूले व्यवस्थालाई पूरा गर्छन् भनेर भनिएको छ (रोमी २:१४) । त्यसैकारणले सही र गलतको शुरूआत्‌को पूर्ण स्रोत (जोचाहिँ परमेश्वर हुनुहुन्छ। रहेको हुनुपर्दछ भन्ने निष्कर्ष निकाल्दछन् र यसैमा सही र गलतबारे हाम्रा विचारको अर्थ रहेको हुन्छ ।

image 4

हामी सबै सामाजिक तथा नैतिक प्राणीहरू हौं । जसरी चराहरू मौरीहरू स्वभावैले बथानमा रहन्छन् भने, मानिसहरू समुदायमा रहन्छन् । यिनै समुदायमा सरकारहरू देखापर्न थाले । सबै सरकारहरू न्यायिक र पुर्ण रूपले असल नभए तापनि, नैतिक क्रमको चाहना भनेको विश्वव्यापी हो र सरकारको वास्तविकता भनेको यो चाहनाको उदाहरण हो । यद्यपी संसारीक कुनै पनि ढाँचाका सरकारले हाम्रा चाहनाहरूलाई पूर्ण रूपले सन्तुष्ट पार्न सक्दैन ।[27] मानिस नैतिक, सदाचारी प्राणी हो। उसले ठीक र बेठीकको बोधको साथै ठीक कुरासँग टाँसिन र गलत कुराबाट जोगिने जिम्मेवारीको बोध पनि धारण गर्दछ । बाइबल यो विवेकमा छाप लगाउँछ र यसलाई परमेश्वर प्रदत्तका रूपमा हेर्दछ । मानिस आफ्नो विवेकको विपरीत जाँदा ऊ दण्ड र भयको अधीन हुन्छ । आफ्नो अन्तस्करणलाई मानिसले भिन्न दिशाहरूमा अनुकूल गराउन, वा तालिम दिन सकिए तापनि यो स्वाभाविक रूपमा मानिसको लागि आम कुनै कुरा हो । विश्वव्यापी हुनुले ठीकको निम्ति जिम्मेवारीको यो बोध मानवजातिमा निर्माण गर्ने, एक सर्वोच्च व्यवस्था दिने र न्यायकर्ताको अस्तित्वको साक्षी हो (रोमी २:१४-१५; १तिमोथी ४:२, तीतस १:१५; हिब्रू ९:१४; यूहन्ना ८:९)।[28]

विवेकबाट प्रमाण

सर्वशक्तिमान् (शक्ति) वा व्यक्तिमा सार्वभौमिक विश्वास राखेरै मानिस जन्मेको हुन्छ; यस्तो विश्वास नराख्ने कुनै जाति आजसम्मन् भेटाइएको छैन । कुनै सर्वशक्तिमान् व्यक्ति हुनुहुन्छ जसले सबै कुराको सृष्टि गर्नुभयो अनि उसलाई नियन्त्रणमा राखिरहनुभएको छ भनी तिनीहरूले विश्वास गर्दछन् । रोमी २:१५ले भन्छ, “यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँदछन्, अनि तिनीहरूको अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपरण अथवा समर्थन गर्नेगर्छन् ।” परमेश्वर हुनुहुन्छ भन्ने कुरो मानिसको विवेकमा लेखिएको छ । प्रेरित १७:२३, “किनकि घुमफिर गर्दा, र तपाईंहरूका भक्ति गर्ने ठाउँहरूमा हेर्न जाँदा, मैले एउटा यस्तो स्थान पनि भेट्टाएँ जसमा ‘नजानिएका देवताको निम्ति’ भन्ने खोपिएको रहेछ ।” उहाँलाई व्यक्तिगत रूपमा नचिनेको भए तापनि विवेकले तिनीहरूलाई उहाँ हुनुहुन्छ भनी जनाएको थियो । कतिपय नास्तिकहरूले दावी गर्छन् कि उनीहरूको विवेकले उनीहरूलाई परमेश्वरबारे केही बताउँदैन । वास्तवमा विशुद्ध नास्तिक पाउनु कहीँ पनि गाह्रो छ किनभने धेरैजसोले आफ्नो विवेकलाई जवर्जस्ती भड्किलो विश्वासद्वारा कठोर तुल्याएका हुन्छन् । कतिपय मानिसहरू यति अन्धा हुन्छन् कि उनीहरूले आकाशमा सूर्य छ भन्ने वास्तविकतालाई पनि नकार्न सक्छन् तर यस विश्वासले सधैं झुल्कने र अस्ताउने सूर्यको अस्तित्वलाई धमिल्याउन सक्तैन । देखेर पनि नदेखेको बहाना गर्नेजत्तिको अन्धा अरू को होला ? इमान्दार मानिसले परमेश्वरको अस्तित्व छ अनि आज पनि उहाँ जीवित हुनुहन्छ भन्ने विवेकको मधुर स्वरलाई सुन्नसक्छ । उहाँलाई देख्न नसकेर होइन तर आफ्नो मृत्युपश्चात् उहाँलाई बुझाउनु पर्ने लेखाको जिम्मेवारीसंग डराएर मानिसले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छ। अनिश्वरवाद नै मुक्तिलाई ग्रहण गर्न नदिई मानिसलाई चिर- निद्रामा पार्ने शैतानिक हतियार हो । परमेश्वर हुनुहुन्न भने म कसैप्रति उत्तरदायी हुने छैन अनि म आफ्नो मनखुशी जिउन र मर्नसक्छु । तर क्षण-क्षणमा मानिसको विवेकले कानेखुसी गर्छ, ‘परमेश्वर हुनुहुन्छ’ अनि मूर्खले मात्र यसलाई इन्कार गर्छ । मास्तिर उडिरहेको हवाइजहाजलाई देखिन्छ, तर पाइलटलाई देखिन्न । पाइलटलाई नदेख्दा हवाइजहाज पाइलट्विना उडिरहेको छ भन्नु र सारा सृष्टिलाई हेरेर पनि उहाँलाई नदेख्दा परमेश्वर छैन भन्नु बराबर हास्यास्पद तर्क हो । हामीमध्ये कसैले पनि आफ्नो मस्तिष्क शायदै देखेका हौंला तर पनि हामीमा मस्तिष्क छ भनी हामी विश्वास गछौँ किन भने त्यसैको नियन्त्रणमा हाम्रो शरीर चलिरहेको हुन्छ । सृष्टिलाई हेरेर नै परमेश्वर हुनुहुन्छ भनी हामी विश्वास गछौं । [29]

image 5

जीवनको आधारमा तर्क

 ग्रीक शब्द “bios” को अर्थ “जीवन” हो। जीवन पदार्थबाट मात्र नभएर पूर्वअस्तित्वमा रहेको जीवनद्वारा मात्र आउन सक्छ भन्नु वैज्ञानिक तथ्य हो । तसर्थ, सबै जीवनलाई यसको श्रोतमा फर्केर त्यसका चिन्ह खोज्न हामी अन्ततः स्वयम् परमेश्वरमै फर्कि आउनु पर्दछ । त्यहाँ अन्तिम जीवन स्रोत, सम्पूर्ण जीवनको उत्पतिकर्ता र आफै उत्पन्न नभएको र अनन्त जीवनको धारक भएको कुनै अस्तित्व हुनुपर्दछ। जीवनको यो स्रोत परमेश्वर हुनुहुन्छ (भजन ३६:९; यूहन्ना ११:२५; १४:६; १०:२८; १:१-५) ।[30] जीवन जीवनबाटै उत्पन्न हुन्छ अनि पहिलो जीवन अनन्त जीवन प्राप्त व्यक्तिबाट आएको हुनुपर्छ जुन जीवन शारीरिक जीवन शुरु हुनुभन्दा पहिल्यै सृष्टि भएको थियो । यस्तो जीवन कहाँ पाइन्छ ? – यो जीवन अनन्त जीवन भएको परमेश्वरमा पाइन्छ । भजन ३६:९, “जीवनको मूल स्रोत तपाईंसँग छ।” स्याउको बोटले आफ्नो पैतृक बोटबाट जीवन पाउँछ । त्यस्तै गरी जन्तुहरूले पनि तर ती पैतृक बोट वा माता-पिताले चाहिँ जीवन कहाँबाट पाए ? यसले हामीलाई सोझै उत्पत्तितिर लैजान्छ । यूहन्ना ११:२५मा येशूले भन्नुभयो, “जीवन मै हुँ ।” साथै यूहन्ना १४:६ मा पनि, अनि यूहन्ना १०:२८मा भन्नुभयो, “म तिनीहरूलाई अनन्त जीवन दिन्छु ।” सबै जीवन परमेश्वरबाटै आउँछ । स्वतः प्रवर्तनको सिद्धान्त फूटो ठहरिएको छ अनि प्रामाणिक विज्ञानले यसलाई एकदमै अस्वीकार गरेको छ। जीवनको शुरुआत त हुनैपर्छ । यसकारण एउटै मात्र तर्कसंगत उत्तर यही हुन्छ कि परमेश्वरबाट नै जीवनको शुरुआत भयो ।[31]

image 6

 

मानवविज्ञान सम्बन्धी तर्क

मानिसको निम्ति ग्रीक शब्द “Anthropos” हो । परमेश्वरको सृजनात्मक कलाहरूमा मानिस उत्कृष्ट हो। ऊ सृष्टिको उच्चतम महिमा हुन परमेश्वरको स्वरूपमा रचना गरिएको थियो (उत्पत्ति १:१-२८; भजन ९४:९) । सम्पूर्ण जनावर सृजनाभन्दा ऊ धेरै श्रेष्ठ छ । ज्यादै सुन्दर देखिने गोरिल्ला (पुच्छर नभएको बांदर) आफ्नो पूर्ण अस्तित्वमा मानिससँग तुल्य हुनसक्दैन । बौद्धिक मानिस बौद्धिक परमेश्वरको अस्तित्वको निम्ति एउटा सबैभन्दा ठूलो तर्क हो । मानव प्राणीहरू हरेक भिन्न र अद्वितीय छन् र पनि सबैमाथि सृष्टिकर्ताको छाप लागेको छ, सबैले सृष्टिकर्ताको अस्तित्वको तर्क प्रस्तुत गर्दछन् । विकासवादी सिद्धान्तहरू सृष्टिकर्तृत्वको उत्तरदायित्व र जिम्मेवारीबाट भाग्ने मानिसको प्रयत्न मात्र हुन् ।[32] मानिस सृजित बौद्धिक प्राणी मात्र होइन, उसमा परमेश्वरको सत्ताको अन्तर्दृष्टिय विश्वास र ज्ञान पनि छ । अन्तर्ज्ञानले मानिससँग विवेकको प्रकृयाबिना भएको समझ शक्ति वा ज्ञानबारे बताउँछ। परमेश्वर हुनुहुन्छ भनी मानिस अन्तर्दृष्टिले बुझ्दछ। ऊ आफूभित्र यो ज्ञान लिएर जन्मेको छ । यो कहिलेकाहीं मानिसभित्रको धार्मिक नैसर्गिक प्रवृत्तिको रूपमा बयान गरिएको छ। यसले उसमा कुनै कुरा, वा कुनै व्यक्तिको आराधना गर्ने इच्छा उत्पन्न गर्दछ । मानिस आराधक हुन, परमेश्वरको आराधना गर्नको लागि सृजना गरिएको थियो । परमेश्वरले उहाँको आफ्नै अस्तित्वको अन्तर्दृष्टिय ज्ञान मानिसभित्र नराखिदिनुभएको भए उसले परमेश्वरको आराधना गर्न खोज्दैनथ्यो । यो तर्क यस तथ्यद्वारा प्रमाणित गरिएको छ कि पृथ्वीका हरेक जातिमा एउटा देवता, वा देवताहरूमा विश्वव्यापी विश्वास छ । मानिसले साँचो परमेश्वर ग्रहण गर्दैन, वा भेट्टाउँदैन भने उसले आराधनाका लागि उसको आफ्नै देवता बनाउँछ । यसरी उसले यो अन्तर्दृष्टिय ज्ञानलाई सन्तुष्ट पार्दछ । परमेश्वरमा विश्वास गर्नु सांस्कृतिक अनुकूलनको परिणाम मात्र होइन । यो अन्तर्दृष्टिय हो (प्रेरित १७:२३-२४; रोमी १:२८-३२; यूहन्ना १:३-७; भजन ११५:१-८)।[33]

निष्कर्ष

यी सबै तर्कहरू सृष्टिबारे यस्ता तथ्यहरूमा आधारित भएका छन् जो वास्तवमा सत्य हुन्, यसकारण हामी यो भन्न सक्छौं कि यी सबै प्रमाणहरू, वस्तुगत अर्थमा, वैध छन् । ती यस अर्थमा वैध छन् कि तिनले प्रमाणलाई ठीकसित मूल्याङ्कन गर्छन् र सही प्रकारले एउटा सत्य निष्कर्षमा पुऱ्याउँछन् । वास्तवमा, विश्वका कारणको रूपमा परमेश्वर हुनुहुन्छ नै अनि यो विश्वले उद्देश्यपूर्ण ढाँचाको प्रमाण देखाउँछ, अनि परमेश्वर कल्पना गर्न सकिने कुनै पनि थोकभन्दा पनि सर्वमहान् अस्तित्वको रूपमा निश्चय नै हुनुहुन्छ, अनि परमेश्वरले हामीलाई सही र गलतको चेतना र उहाँको न्याय कुनै दिन आइरहेको छ नै भन्ने तथ्यबारे चेतना दिनुभएको छ। यसकारण, यी प्रमाणहरूमा सङ्केत गरिएका वास्तविक तथ्यहरू, साँचा हुन् र त्यस अर्थमा ती प्रमाणहरू वैध छन्, तथापि सबै मानिसहरूलाई ती प्रमाणहरूद्वारा विश्वास गर्ने बनाउन सकिंदैन तर अर्को अर्थमा, यदि “वैध” को अर्थ “झुटा पूर्वानुमानहरूसित तर्क थाल्नेहरूलाई पनि सहमत बन्न बाध्य बनाउनु” हो भने निश्चय नै ती प्रमाणहरूमध्ये कुनै पनि वैध हुँदैन, किनभने ती प्रमाणहरूमध्ये एउटै पनि प्रमाण प्रमाणहरूबारे मनन गर्ने मानिसहरूलाई सहमत बनाउन सक्षम हुँदैन। तर पनि यस्तो यसकारण हुन्छ कि धेरै अविश्वासीहरूले अमान्य अनुमानहरूसित तर्क सुरु गर्छन् वा त्यस प्रमाणको आधारमा ठीकसित तर्क गर्दैनन्। ती प्रमाणहरू स्वयम्मा अमान्य भएकाले यस्तो भएको होइन । यसर्थ, यी प्रमाणहरूको मूल्य मुख्यतः अविश्वासीहरूका केही बौद्धिक आपत्तिहरूलाई परास्त गर्ने काममा निहित हुन्छ। ती प्रमाणहरूले अविश्वासीहरूलाई उद्धारकारी विश्वासमा डोऱ्याउन सक्दैनन्, किनकि त्यो धर्मशास्त्रको गवाहीमा गरिएको विश्वासको माध्यमबाट आउँछ। तर ती प्रमाणहरूले अविश्वासीहरूका आपत्तिहरूलाई परास्त गर्नमा सहायता गर्न सक्छन्। विश्वासीहरूका निम्ति भने ती प्रमाणहरूले परमेश्वर-सम्बन्धी तिनीहरू स्वयम्‌को आन्तरिक चेतना र धर्मशास्त्रको गवाहीद्वारा तिनीहरूलाई अगावै विश्वासमा दिलाइसकिएको कुनै कुरासम्बन्धी थप बौद्धिक प्रमाण उपलब्ध गराउन सक्छन् ।[34]


               [1] Conrad Hackett et al., “How the Global Religious Landscape Changed From 2010 to 2020,” Pew Research Center, Update: June 9, 2025, accessed December 14, 2025, https://www.pewresearch.org/religion/2025/06/09/religiously-unaffiliated-population-change/.

               [2] Ariela Keysar and Juhem Navarro-Rivera, “A World of Atheism: Global Demographics,” in The Oxford Handbook of Atheism, Oxford Academic, accessed December 14, academic.oup.com.

               [3] Atheist: Definition of “atheist,” Collins English Dictionary, accessed December 2025, https://www.collinsdictionary.com/dictionary/english/atheist

               [4] Agnostic: Definition of “agnostic,” Merriam-Webster Dictionary, accessed December 2025, https://www.merriam-webster.com/dictionary/agnostic

               [5] Nonbeliever: Definition of “nonbeliever,” Merriam-Webster Thesaurus, accessed December 2025, https://www.merriam-webster.com/thesaurus/nonbeliever

               [6] Nontheist / Freethinker / Secular: Atheism/Agnosticism | Religion Stylebook, accessed December 2025, https://religionstylebook.com/entries/category/atheism-agnosticism

               [7] Ibid.

               [8] Nontheist / Freethinker / Secular: Atheism/Agnosticism | Religion Stylebook, accessed December 2025, https://religionstylebook.com/entries/category/atheism-agnosticism

[9] Alban Douglas, One Hundred Bible Lessons (Nepali) (Kathmandu: Bardan Publications, 2004), 1.

[10] टिटीआई कर्मचारी, बाइबलका प्रमुख सिद्धान्तहरू (काठमाडौः टिटीआई, २०१०), १२ ।

[11] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 71.

[12] टिटीआई कर्मचारी, बाइबलका प्रमुख सिद्धान्तहरू (काठमाडौः टिटीआई, २०१०), १२ ।

[13] Pabitra Mani Bhandari, Christian Theology for Nepali Believers (Kathmandu: Nepal International Theological Seminary, 2023), 43.

[14] Wavne Grudem, Systematic Theology (Dargeling: Bachan Prakashan, 1994), 182.

[15] Pabitra Mani Bhandari, Christian Theology for Nepali Believers (Kathmandu: Nepal International Theological Seminary, 2023), 44.

[16] Wavne Grudem, Systematic Theology (Dargeling: Bachan Prakashan, 1994), 182.

[17] Alban Douglas, One Hundred Bible Lessons (Nepali) (Kathmandu: Bardan Publications, 2004), 3.

[18] टिटीआई कर्मचारी, बाइबलका प्रमुख सिद्धान्तहरू (काठमाडौः टिटीआई, २०१०), १२ ।

[19] टिटीआई कर्मचारी, बाइबलका प्रमुख सिद्धान्तहरू (काठमाडौः टिटीआई, २०१०), १२-१३ ।

[20] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 72.

[21] Pabitra Mani Bhandari, Christian Theology for Nepali Believers (Kathmandu: Nepal International Theological Seminary, 2023), 44.

[22] Pabitra Mani Bhandari, Christian Theology for Nepali Believers (Kathmandu: Nepal International Theological Seminary, 2023), 44.

[23] Wavne Grudem, Systematic Theology (Dargeling: Bachan Prakashan, 1994), 182-183.

[24] Pabitra Mani Bhandari, Christian Theology for Nepali Believers (Kathmandu: Nepal International Theological Seminary, 2023), 45.

[25] Alban Douglas, One Hundred Bible Lessons (Nepali) (Kathmandu: Bardan Publications, 2004), 3-4.

[26] Wavne Grudem, Systematic Theology (Dargeling: Bachan Prakashan, 1994), 183.

[27] टिटीआई कर्मचारी, बाइबलका प्रमुख सिद्धान्तहरू (काठमाडौः टिटीआई, २०१०),१३ ।

[28] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 73.

[29] Alban Douglas, One Hundred Bible Lessons (Nepali) (Kathmandu: Bardan Publications, 2004), 2.

[30] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 73.

[31] Alban Douglas, One Hundred Bible Lessons (Nepali) (Kathmandu: Bardan Publications, 2004), 4.

[32] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 72.

[33] Kevinj Conner, The Foundtions of Christian Doctrine (Kathmandu: Good News Publisher, 2018), 72-73.

[34] Wavne Grudem, Systematic Theology (Dargeling: Bachan Prakashan, 1994), 183.

           

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.