जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
redit

नयाँ बर्ष परमेश्वरसँग नयाँ जीवनको सुरूवात

“हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ । के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु ।” (यशैया ४३:१९)

नयाँ वर्षमा परमेश्वरको निमन्त्रणा

आज हामी समयको एउटा मोडमा उभिएका छौं  । पुरानो वर्ष समाप्त भयो, नयाँ वर्ष सुरु भयो । संसारले यसलाई उत्सव, योजना, र संकल्पको समय मान्छ तर आत्मिक दृष्टिकोणले हेर्दा, नयाँ वर्ष भनेको परमेश्वरको विशेष निमन्त्रणा हो ।

 निमन्त्रणा केको लागि?

  • नयाँ जीवनको लागि
  • नयाँ सोचको लागि
  • परमेश्वरसँग नयाँ सम्बन्धको लागि

हामीले आफैलाई गम्भीर प्रश्न सोध्नुपर्छ: “के म केवल वर्ष बदल्दैछु, कि मेरो जीवन पनि बदलिँदैछ?” धेरै मानिसहरूको जीवन वर्षौंसम्म उस्तै रहन्छ  । हाम्रा भित्रे पात्रोको पानाहरु मात्र परिवर्तन भए कि हाम्रा जीवनहरु पनि परिवर्तन भए ? नयाँ बर्षको पात्रो मात्र परिवर्तन हुने कार्य भयो कि जीवन पनि सकरात्मक गन्तव्य तर्फ परिवर्तन भए ? कहिले काही हामीहरूमा उही बानी, उही सोच, उही पाप, उही डर हुने गर्दछ  । किनकि केवल समय परिवर्तन भए तर हामी परिवर्तन हुन चाहानौँ वा भएनौँ  । तर परमेश्वर आज भन्नुहुन्छ,  “म नयाँ कुरा गर्दैछु  ।” यसको अर्थ तपाईंको जीवनमा परिवर्तन सम्भव छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट परमेश्वरले तपार्इको जीवनमा नयाँ आयामहरू सुरुवात गर्न सक्नुहुन्छ ।

१. विगतको बन्दनबाट स्वतन्त्रता नयाँ सुरुवातको पहिलो कदम

“हेर, म नयाँ कुरा गर्दैछु…” (यशैया ४३:१९)

               परमेश्वरले यो वचन इस्राएलीहरूलाई दिनुभयो, जब उनीहरू विगतका अनुभवहरूमा अड्किएका थिए । उनीहरू पुराना चमत्कार सम्झिरहेका थिए  । लाल समुद्रको विभाजन, मिस्रबाट छुटकारा तर वर्तमानमा उनीहरू निराश थिए । परमेश्वरले भन्नुभयो, “पुराना कुरा मात्र सम्झेर नबस, म अझ ठूलो काम गर्दैछु ।” कहिलेकाहीँ हामी पनि यस्तै अवस्थामा हुन सक्छौँ:

  • “म पहिले असफल भएँ…”
  • “मसँग यस्तो चोट लाग्यो…”
  • “मेरो जीवन कहिल्यै बदलिँदैन…”
  • “सोचेको जस्तो केही हुदैन…”
  • “किन म जे गर्दा पनि असफल हुन्छु ?”
  • “ मलाइ मात्र किन समस्या ? ”

जस्ता हाम्रा मन मस्तिष्कमा यस्तो प्रश्नहरू आउन सक्छ  । तर सत्य के हो भने: परमेश्वरको दृष्टिमा तपाईंको विगत अन्तिम कथा होइन । विगतले तपाईंलाई सिकाउन सक्छ, तर त्यसैले नियन्त्रण गर्न हुँदैन । धेरै विश्वासीहरू अगाडि बढ्न सक्दैनन् किनकि उनीहरू:

  • आफैलाई दोष दिन्छन्
  • अरूलाई क्षमा गर्न सक्दैनन्
  • परमेश्वरको अनुग्रह स्वीकार गर्न सक्दैनन्

तर नयाँ वर्षमा सबैभन्दा ठूलो चमत्कार के हो भने परमेश्वरले हामीहरूलार्इ दिने स्वतन्त्रता र हृदयको स्वतन्त्रता हो  । यसैले आफूलाई क्षमा गर्नुहोस्, अरूलाई क्षमा गर्नुहोस्, आफ्नो विगत परमेश्वरलाई सुम्पनुहोस् र केवल परमेश्वर पूर्ण रूपमा भरोसा राख्नुहोस् ।

२. परमेश्वरको योजना दृश्यभन्दा परको वास्तविकता

“किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ । “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई ।” (यर्मिया २९:११)

यो वचन त्यतिबेला दिइएको थियो जब इस्राएलीहरू बन्दी जीवनमा थिए  । बेबिलोनमा उनीहरू कैदी रूपमा जीवन बिताइरहेका थिए  । उनीहरू निराश, टुटेका, र भविष्यविहीन जस्तो महसुस गरिरहेका थिए । तर त्यही अवस्थामा परमेश्वरले भन्नुभयो:  “मेरो योजना उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्ति होइन ।” परिस्थिति खराब भए पनि, परमेश्वरको योजना राम्रो हुन्छ । हामीले जीवनमा धेरै कुरा बुझ्दैनौं: किन ढिलो हुन्छ? किन पीडा आउँछ? किन ढोका बन्द हुन्छ? तर परमेश्वर भन्नुहुन्छ, “म जान्दछु ।” तपाईंले आफ्नो जीवनको केवल एउटा अध्याय देख्नुहुन्छ,
तर परमेश्वरले सम्पूर्ण पुस्तक देख्नुहुन्छ । यसैले जीवनका एउटा पानालार्इ मात्र हेरे सम्पूर्ण पुस्तकको व्याख्या गर्नु हुँदैन  ।

यसैले

  • जब केही देखिँदैन → केवल परमेश्वरमा विश्वास गर्नुहोस्
  • जब ढिलो हुन्छ → परमेश्वरमा निरन्तर धैर्य राख्नुहोस्
  • जब कठिन हुन्छ → परमेश्वरमा स्थिर रहनुहोस्  ।

 यस वर्षको घोषणा यही हो कि, “म परिस्थितिमा होइन, परमेश्वरको योजनामा विश्वास गर्छु ।”

३. परमेश्वरसँगको सम्बन्ध जीवनको केन्द्रबिन्दु

“परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ ।…” (याकूब ४:८)

आजको संसारमा मानिसहरू धेरै कुरामा व्यस्त छन्, काम, पैसा, सामाजिक सञ्जाल, सम्बन्ध तर सबैभन्दा महत्वपूर्ण सम्बन्ध परमेश्वरसँगको—उपेक्षित हुन्छ । तपाईं परमेश्वरसँग कति नजिक हुनुहुन्छ? तर परमेश्वर कहिल्यै हामीबाट टाढा हुनुहुन्न, बरू हामी उहाँबाट टाढा हुन्छौं  । जब हामी प्रार्थना छोड्छौं, वचन पढ्दैनौं, आत्मिक जीवनलाई हल्का लिन्छौं तब हामी कमजोर बन्छौं । परमेश्वरसँग नजिक हुनु कुनै भावना मात्र होइन  । यो निर्णय हो, अनुशासन हो । यसैले

  • बिहानको पहिलो समय परमेश्वरलाई दिनुहोस्
  • दैनिक वचन अध्ययन
  • उपवास र प्रार्थना  
  • संगति (fellowship) मा स्थिरता दिनुहोस्  ।

जब तपाईं परमेश्वरसँग नजिक हुनुहुन्छ, तपाईं स्पष्टता पाउनुहुन्छ, शान्ति अनुभव गर्नुहुन्छ, मार्गदर्शन पाउनुहुन्छ ।

४. कमजोरीमा परमेश्वरको शक्ति आत्मिक रहस्य

“तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ । तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌ । तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌ ।” (यशैया ४०:३१)


मानिसको जीवनमा थकान अनिवार्य छ । तर परमेश्वरमा आशा राख्ने मानिस कहिल्यै समाप्त हुँदैन ।

गरुडको उदाहरणः गरुड आँधीबाट भाग्दैन  । उ आँधीलाई प्रयोग गरेर अझ माथि उड्छ । यसैले तपाईंको समस्या तपाईंलाई नष्ट गर्न होइन तर उचाल्न आएको हो । कहिलेकाहीँ परमेश्वरले समस्या हटाउनुहुन्न तर तपाईंलाई त्यसभन्दा बलियो बनाउनुहुन्छ ।

यस वर्षको निर्णय गहि गर्नुहोस् कि म हार मान्दिनँ, म परमेश्वरमा आशा राख्छु, म उठ्नेछु

५. कृतज्ञता, आनन्द र विजयको कुञ्जी

“सबै कुरामा धन्यवाद देओ…” (१ थेस्सलोनिकी ५:१६-१८)

धन्यवाद दिनु सजिलो हुन्छ जब सबै कुरा राम्रो हुन्छ । जब जीवनमा कठिन अवस्थाहरू आइपर्छ तब पनि के परमेश्वरमा धन्यवादी हुन्छौँ ? तर बाइबलले भन्छ । “सबै अवस्थामा धन्यवाद देओ ।” किन? किनभने धन्यवादले हाम्रो दृष्टिकोण बदल्छ । यसैले:

  • गुनासो → शान्ति हराउँछ
  • धन्यवाद → आनन्द बढाउँछ

धन्यवाद दिने व्यक्ति कहिल्यै गरीब हुँदैन  । किनकि उसले परमेश्वरको भलाइ देख्छ ।

६. मनको परिवर्तन जीवनको पूर्ण परिवर्तन

“यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक ।” (रोमी १२:२)

जीवन परिवर्तन बाहिरबाट सुरु हुँदैन  । भित्रबाट सुरु हुन्छ । तपाईं जस्तो सोच्नुहुन्छ, तपाईं त्यस्तै बन्नुहुन्छ । सबैभन्दा ठूलो युद्ध हाम्रो मनमा हुन्छ ।

  • डर vs विश्वास
  • नकारात्मकता vs आशा
  • संसार vs परमेश्वरको वचन

यसैकारणले वचनले मन भर्नुहोस्, नकारात्मक विचार अस्वीकार गर्नुहोस्प रमेश्वरको सत्यलाई स्वीकार गर्नुहोस्

 परिणाम:
नयाँ सोच → नयाँ निर्णय → नयाँ जीवन

नयाँ वर्ष, नयाँ प्रतिबद्धता, नयाँ पहिचान

आजको वचन केवल पढ्नको लागि मात्र होइन  । जीवनमा लागू गर्नको लागि हो । यो वर्ष तपाईंको लागि के हुनेछ  । पुरानै जीवन कि नयाँ जीवन?  परमेश्वर तपाईंलाई बोलाउनुहुन्छ,  “आऊ, म तिमीलाई नयाँ बनाउँछु ।”

यो वर्ष तपाईंको जीवनमा केवल नयाँ दिनहरू होइन, नयाँ आत्मिक गहिराइ ल्याउने वर्ष बनोस् ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.