१२ जेठ २०८३ उदयपुर । नेपाली इसाई समुदायको साझा छाता संस्था राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ) नेपालमा आगामी नेतृत्व चयनको माहोल बढ्दै गएको छ। यसै क्रममा एनसिएफ नेपालको पूर्वाञ्चल उपाध्यक्षका रूपमा एक कार्यकाल सफलतापूर्वक सेवा गरिसक्नुभएका पास्टर जीतमान राईले सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ स्थित भोरलेनी चर्चका अगुवा पास्टर जीतमान राई लामो समयदेखि मण्डली सेवकाइ, नेतृत्व विकास तथा मण्डलीहरूबीचको एकताको क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आउनुभएको छ। एनसिएफ नेपालको पूर्वाञ्चल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले संस्थाको विकास, सहकार्य र संगठनात्मक सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो।
पास्टर राईले नेपाली मण्डलीहरू आत्मनिर्भर भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पूर्ण मण्डलीहरू एकतामा रहेर प्रभुको सेवामा अघि बढ्नुपर्ने आफ्नो मुख्य अवधारणा रहेको बताउनुभएको छ। उहाँले एनसिएफ नेपाललाई अझ बलियो, उत्तरदायी र मण्डलीमुखी संस्थाका रूपमा विकास गर्न आफू सचिव पदमा उम्मेदवार बनेको स्पष्ट पार्नुभएको छ। पास्टर राईले भन्नुहुन्छ,
“नेपाली मण्डलीहरू आफ्नै स्रोत, सहकार्य र आत्मिक एकतामा आधारित भएर अघि बढ्नुपर्छ। सम्पूर्ण मण्डलीहरूबीच प्रेम, सहकार्य र एकताको भावना अझ मजबुत बनाउँदै प्रभुको सेवामा समर्पित हुन आवश्यक छ,”
उहाँको लामो सेवकाइ अनुभव, संगठनात्मक समझदारी तथा मण्डलीप्रतिको समर्पणका कारण उहाँलाई सचिव पदका लागि सक्षम र योग्य उम्मेदवारका रूपमा हेरिएको छ। आसन्न निर्वाचनलाई प्रार्थना, सहमति र आत्मिक एकताका साथ सम्पन्न गर्न आग्रह गर्दै उहाँले सम्पूर्ण प्रतिनिधि, पास्टर तथा अगुवाहरूलाई प्रार्थनासहित आफ्नो अमूल्य मत प्रदान गरिदिन हार्दिक अनुरोध गर्नुभएको छ। “आसन्न निर्वाचन” मिति २०८३/०२/१९ गते हुन गइरहेको छ ।