जब पवित्र धर्मशास्त्र बोल्दछ...

नेपालमा झुटो शिक्षाका १३ प्रमुख उदाहरण

नेपालमा भएका विभिन्न झुटा शिक्षाहरू
sssssssssssd

नेपालको दृष्टिकोणमा बाइबलीय “झुटो शिक्षा” भन्नाले बाइबलको मूल सत्य लाई तोडमोड गरेर, गलत अर्थ लगाएर, वा मानिसको स्वार्थ अनुसार नयाँ व्याख्या बनाएर प्रचार गरिने शिक्षा बुझिन्छ, जसले अन्ततः मानिसलाई ख्रीष्टबाट टाढा लैजान्छ र उद्धारको सुसमाचारलाई विकृत बनाउँछ। बाइबल अनुसार झुटो शिक्षा भनेको केवल “अरू धर्म” मात्र होइन, तर ख्रीष्टियन नाम लिएर पनि ख्रीष्टको साँचो शिक्षालाई बिगार्ने कुनै पनि सिद्धान्त हो। प्रेरित पावलले गलातीको चर्चलाई चेतावनी दिंदै “यदि कसैले हामीले प्रचार गरेको सुसमाचार बाहेक अर्को सुसमाचार प्रचार गर्छ भने त्यो श्रापित होस्” भनेका छन् (गलाती १:८–९)। यसले स्पष्ट देखाउँछ कि झुटो शिक्षा भनेको मानिसलाई परमेश्वरको सत्यबाट भड्काएर आत्मिक विनाशतर्फ लैजाने खतरनाक विषय हो। नेपालमा पनि विभिन्न प्रकारका झुटा शिक्षाहरू पाइन्छन्, जसमा केही चर्चभित्रै फैलिएका छन् भने केही बाहिरी धार्मिक÷आध्यात्मिक आन्दोलनबाट आएका छन्।

       नेपालमा देखिने प्रमुख झुटा शिक्षाहरूमध्ये पहिलो हो समृद्धि सुसमाचार जसले “यदि विश्वास ग¥यो भने परमेश्वरले धन, गाडी, घर, स्वास्थ्य र सफलताले भरिदिन्छ” भन्ने शिक्षा प्रचार गर्छ; तर बाइबलले ख्रीष्टियन जीवनलाई केवल भौतिक सफलताको प्रतिज्ञा होइन, बरु क्रुस बोक्ने जीवन (लूका ९:२३) र कहिलेकाहीँ दुःख तथा सतावटको मार्ग (२ तिमोथी ३:१२) भनेर देखाउँछ।

       दोस्रो झुटो शिक्षा नेपालमा केवल चंगाइ केन्द्रित विश्वास हो, जसमा मानिसहरूले येशूलाई उद्धारकर्ता भन्दा पनि केवल रोग निको पार्ने शक्तिको रूपमा मात्र प्रस्तुत गर्छन्, अनि बिरामी ननिको भए “विश्वास कम भयो” भनेर दोष लगाइन्छ; तर बाइबलमा प्रेरित पावल स्वयं “काँडा” बाट पीडित हुँदा पनि परमेश्वरले तुरुन्त निको पार्नुभएन (२ कोरिन्थी १२:७–९), जसले देखाउँछ कि चंगाइ परमेश्वरको इच्छा अनुसार हुन्छ, व्यापार वा प्रदर्शन होइन।

        तेस्रो झुटो शिक्षा नेपालमा भूत भगाउने प्रदर्शनवादी सेवकाईको रूपमा बढ्दै गएको छ, जहाँ मञ्चमा कराउने, ढलाउने, नाटकजस्तो गतिविधि गरेर मानिसलाई आकर्षित गरिन्छ, तर साँचो पश्चात्ताप, पवित्रता र वचनको शिक्षामा ध्यान दिइँदैन । येशूले भूतहरूलाई निकाल्नुहुन्थ्यो तर उहाँको केन्द्र सधैं “परमेश्वरको राज्यको प्रचार” थियो (मत्ती ४:२३)।

       चौथो झुटो शिक्षा व्यवस्था केन्द्रित कठोर धर्म हो, जसले उद्धार कृपाबाट होइन, नियम, बाहिरी धार्मिकता, पोशाक, खानपान, वा धार्मिक क्रियाकलापबाट हुन्छ भन्ने व्यवहारिक सन्देश दिन्छ । तर बाइबल स्पष्ट भन्छ—मानिस व्यवस्था पालनबाट होइन, विश्वासद्वारा अनुग्रहबाट धर्मी ठहरिन्छ (एफिसी २:८–९)।

        पाँचौं झुटो शिक्षा कर्मद्वारा उद्धार हो, जुन नेपालको धार्मिक संस्कृतिसँग मिल्दोजुल्दो भएकाले चर्चभित्र पनि लुकेर प्रवेश गरेको पाइन्छ, जसमा मानिसहरूले “धेरै उपवास गरेँ, धेरै भेटी दिएँ, धेरै प्रार्थना गरेँ, त्यसैले परमेश्वरले स्वीकार गर्नुभयो” भन्ने सोच राख्छन् । तर बाइबल अनुसार उद्धार परमेश्वरको उपहार हो (रोमी ६:२३)।

       छैटौं झुटो शिक्षा मिश्रित विश्वास हो, जहाँ ख्रीष्टियन विश्वासलाई हिन्दू÷बौद्ध परम्परा वा तान्त्रिक अभ्याससँग मिसाइन्छ—जस्तै धामीझाँक्रीको विधि प्रयोग गर्ने, मन्त्र–जाप गर्ने, विशेष धागो÷ताबीज लगाउने, ग्रह शान्ति गर्ने, “दृष्टि लाग्यो” भनेर पूजा गर्ने जस्ता कुरा तर बाइबलले यस्तो मिश्रणलाई स्पष्ट रूपमा निषेध गर्छ (व्यवस्था १८:१०–१२)।

       सातौं झुटो शिक्षा मृत आत्मासँग सम्बन्ध राख्ने हो, जुन नेपाली संस्कृतिमा गहिरो छ । कतिपय ठाउँमा चर्चमा विश्वास गरेपछि पनि श्राद्ध, पिण्डदान, आत्मा शान्तिको पूजा जस्ता कर्मलाई “सामाजिक परम्परा” भनेर जारी राखिन्छ, तर बाइबल अनुसार मानिस मरेपछि न्याय हुन्छ (हिब्रू ९:२७) र मृतकसँग संवाद गर्ने अभ्यास परमेश्वरको दृष्टिमा पाप हो।

       आठौं झुटो शिक्षा झुटो भविष्यवाणी संस्कृति हो, जहाँ केही व्यक्तिहरूले “परमेश्वरले मलाई भन्नुभयो” भन्दै मानिसलाई डर देखाएर वा नियन्त्रण गरेर निर्णय गराउँछन्, जस्तै विवाह, विदेश जाने, जागिर खाने, पैसा दिने आदि विषयमा “प्रभुको वाणी” भनेर निर्देशन दिने तर बाइबलले भविष्यवाणीको परीक्षण गर्न आदेश दिन्छ (१ यूहन्ना ४:१) र झुटो अगमवक्तालाई कडा चेतावनी दिन्छ (यिर्मिया २३:१६)।

       नवौं झुटो शिक्षा मानिसलाई पास्टर÷नेताको दास बनाउने शिक्षा हो, जसमा मण्डलीलाई परमेश्वरभन्दा बढी एक व्यक्तिप्रति निर्भर बनाइन्छ, “मेरो आशीर्वाद बिना तिमी सफल हुँदैनौ” भन्ने मानसिकता फैलाइन्छ, र आलोचना गर्न नपाइने वातावरण बनाइन्छ  तर बाइबल अनुसार चर्चको टाउको ख्रीष्ट हुनुहुन्छ (कलस्सी १:१८), कुनै मानिस होइन।

       दशौं झुटो शिक्षा बाइबलभन्दा माथि नयाँ प्रकाश हो, जहाँ कसैले “बाइबल पुरानो भयो, अब नयाँ दर्शन आएको छ” भनेर नयाँ नियम वा नयाँ किताब जस्तो अधिकार स्थापित गर्न खोज्छ । तर बाइबलमा येशूको सुसमाचार पूर्ण छ र त्यसमा केही थप्ने वा घटाउने चेतावनी छ (प्रकाश २२:१८–१९)।

       एघारौं झुटो शिक्षा एकमात्र साँचो चर्च हाम्रो मात्र हो भन्ने घमण्ड हो, जसले अरू सबै चर्चलाई उद्धारहीन ठहर गर्छ; तर बाइबलले ख्रीष्टका सबै साँचो विश्वासीहरूलाई एउटै शरीरको सदस्य मान्छ (१ कोरिन्थी १२:१२–१३)।

       बाह्रौं झुटो शिक्षा नेपालमा घोषणा ग¥यो भने पक्का हुन्छ भन्ने प्रकारको शिक्षा पनि हो, जसमा मानिसले “मैले घोषणा गरेँ, त्यसैले परमेश्वर बाध्य हुनुहुन्छ” भन्ने गलत आत्मिक अधिकार प्रयोग गर्छ तर बाइबल अनुसार प्रार्थना परमेश्वरको इच्छा अनुसार हुनुपर्छ (१ यूहन्ना ५:१४)।

       तेह्रौं झुटो शिक्षा धर्मलाई व्यापार बनाउने हो, जसमा चंगाइ, प्रार्थना, भविष्यवाणी, अभिषेक तेल, विशेष भेटी, चमत्कार कार्यक्रम आदिलाई पैसासँग जोडिन्छ तर प्रेरितहरूको काममा पतरसले स्पष्ट भनेका थिए “परमेश्वरको वरदान पैसा दिएर किन्न सकिन्छ भन्ने तिमीले सोच्यौ” (प्रेरित ८:२०)।

       अन्ततः नेपालमा झुटो शिक्षा केवल बाहिरी धार्मिक समूहबाट मात्र होइन, चर्चभित्रै “आत्मिकता” को नाममा आउने गलत शिक्षाबाट पनि फैलिएको छ, र यसको मूल समस्या यही हो कि मानिसहरूले बाइबललाई गहिरो अध्ययन नगरी भावनात्मक प्रचार, चमत्कारको आकर्षण, वा परम्परागत संस्कारसँग मिसाएर विश्वासलाई अगाडि बढाउँछन्। त्यसकारण बाइबलले दिएको समाधान स्पष्ट छ । वचनको सही शिक्षा, विवेकपूर्ण परीक्षण, र ख्रीष्ट केन्द्रित सुसमाचारमा स्थिर रहनु। प्रेरित पावलले तिमोथीलाई आदेश दिएका थिएः “वचन प्रचार गर… सत्य वचनलाई ठीकसँग विभाजन गर” (२ तिमोथी ४:२, २:१५)। नेपालमा झुटा शिक्षाबाट बच्न मण्डलीहरूमा व्यवस्थित बाइबल अध्ययन, स्वस्थ थियोलोजी, चरित्रयुक्त नेतृत्व, र सुसमाचारको शुद्धता कायम गर्नु अत्यन्त आवश्यक छ, किनकि झुटो शिक्षा केवल ज्ञानको त्रुटि होइन, यो आत्मिक युद्धको हिस्सा हो, जसले मानिसलाई उद्धारको मार्गबाट विचलित पार्न सक्छ (मत्ती २४:२४)।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.