परमेश्वर को हुनुहुन्छ ?

को हुनुहुन्छ परमेश्वर ?

बाइबलअनुसार परमेश्वरबारे अध्ययन धर्मशास्त्रको आधारभूत र अत्यन्त महत्वपूर्ण विषय हो, जसले परमेश्वर को हुनुहुन्छ, उहाँको स्वभाव, गुण, कार्य, र मानिससँगको सम्बन्धलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ । बाइबलले सिकाउँछ कि परमेश्वर एक हुनुहुन्छ (व्यवस्था ६:४) र उहाँ आत्मा हुनुहुन्छ (यूहन्ना ४:२४) । यसको अर्थ परमेश्वर कुनै भौतिक सीमामा बाँधिनुहुन्न, तर अनन्त, अदृश्य र आत्मिक अस्तित्व हुनुहुन्छ । उहाँको अस्तित्व पूर्ण, स्वतन्त्र र अनन्त छ, जसले उहाँलाई सम्पूर्ण सृष्टिभन्दा माथि र भिन्न बनाउँछ ।

परमेश्वरका गुणहरूले उहाँको स्वभावलाई अझ स्पष्ट पार्छन् । बाइबलले उहाँलाई सर्वशक्तिमान (उत्पत्ति १७:१), सर्वज्ञ (भजन १४७:५), सर्वव्यापी (भजन १३९:७–८), पवित्र (यशैया ६:३), र प्रेममय (१ यूहन्ना ४:८) भनेर वर्णन गर्दछ । यी गुणहरूले देखाउँछन् कि परमेश्वरमा कुनै कमजोरी छैन, उहाँ सम्पूर्ण रूपमा सिद्ध हुनुहुन्छ । उहाँको सर्वशक्तिमानता देखाउँछ कि उहाँ सबै कुरा गर्न सक्षम हुनुहुन्छ; सर्वज्ञता देखाउँछ कि उहाँ सबै कुरा जान्नुहुन्छ; सर्वव्यापकता देखाउँछ कि उहाँ सबै ठाउँमा उपस्थित हुनुहुन्छ; पवित्रता उहाँको पूर्ण शुद्धता हो; र प्रेम उहाँको स्वभावको केन्द्र हो । यी सबै गुणहरू मिलेर परमेश्वरको पूर्ण र सन्तुलित चित्र प्रस्तुत गर्छन् ।

बाइबलले परमेश्वरलाई त्रिएक रूपमा पनि प्रकट गर्छ, जसअनुसार परमेश्वर एक हुनुहुन्छ तर तीन व्यक्तित्वमा प्रकट हुनुहुन्छः पिता, पुत्र, र पवित्र आत्मा । मत्ती २८:१९ मा “पिता, पुत्र र पवित्र आत्माको नाममा” भन्ने आज्ञाले यस सत्यलाई पुष्टि गर्छ । पुत्रको रूपमा येशू ख्रीष्ट संसारमा प्रकट हुनुभयो, जसले परमेश्वरलाई मानिसहरूका लागि बुझ्न सकिने रूपमा देखाउनुभयो। यद्यपि तीन व्यक्तित्व अलग–अलग छन्, तिनीहरू एउटै परमेश्वरको पूर्ण एकतामा अस्तित्वमा छन्, जसलाई ख्रीष्टियन धर्मशास्त्रले रहस्यपूर्ण तर सत्य सिद्धान्तको रूपमा स्वीकार गर्दछ ।

परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्ने कुरा बाइबलको प्रारम्भमै स्पष्ट गरिएको छ “आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । यसले देखाउँछ कि सम्पूर्ण ब्रह्माण्ड उहाँबाट उत्पन्न भएको हो र उहाँमै निर्भर छ । साथै, परमेश्वर सार्वभौम हुनुहुन्छ, जसले सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुन्छ “उहाँको राज्य सबैमाथि शासन गर्दछ” (भजन १०३:१९)। यसको अर्थ कुनै पनि कुरा उहाँको नियन्त्रणभन्दा बाहिर छैन, र उहाँको योजना अन्ततः पूरा हुन्छ ।

परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले कुनै पक्षपात देखाउनु हुन्न (व्यवस्था ३२:४; भजनसंग्रह १८:३०)। परमेश्वर र्सवशक्तिमान हुनुहुन्छ; (प्रकाश १९:६; यर्मिया ३२:१७,२७)। परमेश्वर र्सवव्यापी हुनुहुन्छ, यसको अर्थ उहाँको जहा पनि उपस्थिति हुनु हुन्छ (भजनसंग्रह १३९:७–१३; यर्मिया २३:२३)। परमेश्वर र्सवज्ञानी हुनुहुन्छ, यसको अर्थ उहाँ भूत, वर्तमान र भविष्य थाहा छ (भजनसंग्रह १३९:१–५; हितोपदेश ५:२१) ।

परमेश्वर एउटै हुनुहुन्छ; जसले हाम्रा हृदयका गहिरा चाहना र इच्छा बुझ्न सक्षम हुनुहुन्छ । उहाँ हाम्रो आराधना र उपासना एकमात्र योग्य हुनुहुन्छ (व्यवस्था ६:४)। उहाँ धार्मिक हुनुहुन्छ । (प्रस्थान ९:२७; मत्ति २७:४५–४६) । परमेश्वर सर्वभौम हुनुहुन्छ, यसको अर्थ उहाँ सर्वोच्च हुनुहुन्छ । (भजनसंग्रह ८३:१; ९५:५; यर्मिया २३:२०)। परमेश्वर आत्मा हुनुहुन्छ, यसको अर्थ उहाँ अदृश्य हुनुहुन्छ (यूहन्ना १:१८; ४:२४) । परमेश्वर त्रिएक हुनुहुन्छ, (मत्ति २८:१९–२०) । परमेश्वर पवित्र हुनुहुन्छ, (यशैया ६:३; हबकूक १:१३) । परमेश्वर अनुग्रही हुनुहुन्छ, उहाँको अनुग्रहमा उहाँको भलाई, दया, कृपा र प्रेम समावेश छ । (भजनसंग्रह ३१:१९) ।

बाइबल लेखिएको समय र त्यहाँको संस्कृतिमा नामको विषेश महत्व हुन्थ्यो । यसैले परमेश्वरले पनि आफुलाई मानिसहरुमा चिनाउँनु हुँदा पक्कै पनि ठुलो महत्व भएको नाम नै छान्नु भएको हामी पाउँछौँ । इस्राएलीहरुलाई उहाँको नामको अर्थबाट उहाँको चरित्र र उहाँलाई चिन्न सजिलो भएको थियो । यसैले भजनसंग्रह १४८:१३ ले भन्दछ, “यिनीहरु सबैले परमप्रभुको प्रशंसा गरुन्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ ।”

परमेश्वरका नामहरु

१. एलोहिम

          एलोहिम पुरानो करारमा प्राय प्रयोग भएको नाम हो । एलोहिम शब्द बहुवचन शब्द हो । त्यसैले धेरै शताब्दी देखी नै यसलाई त्रिएक परमेश्वरको रुपमा विश्वास गरिन्छ् । एलोहिमको अर्थ सृष्टिकर्ता परमेश्वर हो ।  उत्पत्ति १:१ “आदिमा परमेश्वरले (एलोहिम) आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।

२. यह्वे,यहवे

          याह्वे इस्राएलको परमेश्वरको विशिष्ट नाम हो । यसको वास्तविक उच्चारण हराइ सक्यो । किनभने यहुदिहरुले यो नामलाई धेरै पवित्र छ भनि उच्चारण गरेनन् । यसको अर्को उच्चारण ९व्भजयखबज० यहोवा हो । कतिपय विद्धानहरुले यहवेको अर्थ प्रस्थान ३:१४ मा भएको ‘म हुँ जो म हुँ’ संग मिल्दो छ भनि भन्छन् । किनकी ‘म हुँ’ चाहिँ हिब्रु यह्वे संग मिल्दो जुल्दो छ । याह्वेलाई ग्रीकमा कुरीओस भने भनिन्छ भने अंग्रेजिमा यसलाई LORD भनेर लेखेको पनि पाउँछौँ । नेपालीमा परमप्रभु भनेर लेखेको पाउँछौँ ।

३. एडोनाई

एडोनाइको हिब्रुः अर्थ मेरो प्रभु मेरो मालिक

मेरो प्रभु मेरो मालिक, प्रस्थान २३:१७, ३४:२३, यहोशु ३:१३

एडोनाइ शब्दले यो बुझाउँछ कि परमेश्वरका जनहरु पूर्ण रुपमा उहाँमा आश्रीत छन् र उहाँलाई स्वीकार गर्छन । एडोनाइ शब्दलाई बाइबलमा कहिल्यै कहिँ मानिसहरुको सम्बन्धलाई देखाउनु पनि प्रयोग गरिएको छ । जस्तै उत्पत्ति २४:१२ मा अब्राहमको नोकरले अब्राहमलाई आफ्नो एडोनाइ वा मालिक भनेर भनेका छन् ।

४. एल: एक वचन शब्द हो ।

कसै कसैले यो विचार गर्छन् कि एलोहिम शब्द एकै शब्दावाली हुन । जहाँ एल एक वचन हो भने एलोहिम वहुवचन हो । एल शब्दको अर्थ शक्तिशाली हुनु भन्ने बुझिन्छ । जसको अर्थ सर्वशक्तिमान हुन आउँछ । “एल भन्ने शब्द पुरानो करारमा करिब २५० प्रयोग भएको छ ।” एलशदाइ: सर्वशक्तिमान परमेश्वरक (उत्पत्ति १७:१) यस नाम पुरानो करारमा ७ पटक प्रयोग भएको छ ।

५. यह्वे शब्दका नामहरु

  • यह्वे इरे (उत्पत्ति २२:१४) अर्थ परमप्रभुले जुटाउनु हुन्छ ।
  • यह्वे रफा (प्रस्थान १५:२६) अर्थ निको पार्नुहुने परमप्रभु
  • यह्वे निस्सी (प्रस्थान १७:८–१५) अर्थ परमप्रभु मेरो झण्डा
  • यह्वे शालोम (न्यायकर्ता १३:) अर्थ शान्तिको परमप्रभु
  • यह्वे राह् (रोहि) (भजनसंग्रह २३:१) अर्थ परमप्रभु मेरो गोठालो
  • यह्वे सेदेक (यर्मिया २३:६) अर्थ परमप्रभु मेरो धार्मीकता
  • यह्वे सम्माह् (इजिकिएल ४८:३५) अर्थ परमप्रभु त्यहाँ हुनुहुन्छ
  • यह्वे शाबोथ (यहोशु ४:१४) अर्थ सेनाहरुका परमप्रभु
  • यहोवा–सेवाओथ (यशैया १७:१२–१४, २८:१९) अर्थ सिपाहीका परमेश्वर वा एकजना कप्तान
  • यहोवे मक्कादलेश्चसेम (प्रस्थान ३१:१३) अर्थ हामीलाई शुद्ध पार्ने परमेश्वर हुनुहुन्छ

परमेश्वरको अध्ययनले देखाउँछ कि उहाँ केवल सृष्टिकर्ता वा शासक मात्र होइन, तर प्रेम गर्ने र उद्धार गर्ने परमेश्वर हुनुहुन्छ । उहाँले मानवलाई पापबाट मुक्त गराउन योजना बनाउनुभयो, जुन येशू ख्रीष्ट मार्फत पूरा भयो । यसरी बाइबल अनुसार परमेश्वर एक मात्र सत्य परमेश्वर हुनुहुन्छ, जो सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्यापी, पवित्र र प्रेममय हुनुहुन्छ; त्रिएक स्वरूपमा प्रकट हुनुहुन्छ; सृष्टिकर्ता र सार्वभौम शासक हुनुहुन्छ; र मानिससँग सम्बन्ध राख्न चाहनुहुन्छ ।  त्यसैले परमेश्वर केवल सैद्धान्तिक ज्ञान मात्र नभई जीवन परिवर्तन गर्ने अनुभव हो, जसले मानिसलाई सही मार्ग, उद्देश्य, र अनन्त आशातर्फ डोर्याउँछ ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.