जब पवित्र धर्मशास्त्र बोल्दछ...

122334

पञ्च पुस्तकको परिचय

पुरानो करारका पहिलो पाँच पुस्तकहरु उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थालाई एकै समूहमा समावेश गरी ‘पञ्चग्रन्थ’ नामाकरण गरी अध्ययन गर्न सकिन्छ । बाइबलको सुरुवात पञ्चपुस्तकबाट सुरु हुने गर्दछ । जुन ख्रीष्टियनहरुको पुरानो करार पहिलो पाँच पुस्तकहरु र यहुदीहरुको धर्मग्रन्थ तोरह हो । तोरहको शब्दको अर्थ ‘शिक्षा, सिद्धान्त वा अर्ती’ भन्ने हुन्छ । मोशाको पुस्तकमा पाँचओटा पुस्तकहरु छन्ः उत्पत्ति, प्रस्थान, लेवीहरु, गन्ती र व्यवस्था यी पुस्तकहरुलाई मोशाको नियमको पुस्तक वा पञ्चग्रन्थ भनिन्छि । जसलाई अंग्रेजीमा पेन्टाटुक भनिन्छि । पञ्चपुस्तकको बारेमा लेखक डन् फ्लेमिङ भन्छन्, “ख्रीष्टियन शताब्दीको आरम्भ वा सम्भवतः त्योभन्दा अघिदेखि नै पुरानो करारको पहिलो पाँच पुस्तकहरुको समूहलाई ‘पञ्च पुस्तक’ भनिने चलन थियो । यो नाउँ ग्रीक भाषाको दुईवटा शब्दबाट लिइएको हो, ‘पेन्टा’ को अर्थ ‘पाँच’, अनि ‘टयुकोस्’ को अर्थ एक ‘ग्रन्थ’ हो ।”


पेन्टाटुक भन्ने शब्द बाइबलमा काहिँ पनि पाइदैन । पुस्तकहरुको नामकराणको सन्दर्भमा लेखक डन फ्लेमिङ्ग लेख्छन्, “ई.पू. तेस्रो शताब्दीतिर हिब्रू भाषाको यो पुरानो करार ग्रीक भाषामा अनुवाद गरियो, यो अनुवादलाई सेप्टुअजिन्ट भनी जानिन्छ, किनकि यसको अनुवाद सत्तरी जना व्यक्तिले गरेका थिए । यी अनुवादकबाट नै हामीले बाइबलको पहिलो पाँच पुस्तकहरुको नाउँको रुपमा पञ्चग्रन्थ शब्द पाएका हौँ ।” साथै उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था ठिक यहि समयमा नै विभाजन गरियो भन्ने प्रमाण पनि पाइदैन । सम्भवत ७० जना बाइबल विद्वानहरुले बाइबल अनुवाद गर्दा यी पुस्तकहरुको विभाजन गरिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । सुरुमा यो एउटै पुस्तक थियो तर सुविधाको निम्ति यसलाई पाँच खण्डमा विभाजन गरियो । यी पाँच भागमा विभन्न पुस्तकहरुका अंग्रेजी भाषाको शीर्पकहरु प्राचीन ग्रीक अनुवाद ‘सेप्टुआजिन्ट’ बाट लिइएका हुन् ।

नयाँ करारको पुस्तकमा पञ्चपुस्तकलाई एउटै पुस्तकको रुपमा लिइएको पाइन्छ । मर्कूस १२ः२६ मा पञ्चग्रन्थलाई “मोशाको पुस्तक” भनिएको छ । यस्तै यी पाँच पुस्तकहरुलाई धेरै बर्ष पछि ‘परमेश्वरको व्यववस्थाको पुस्तक’ भनिएको पाइन्छ (नहेम्याह ८ः१८) । बास्तवमा यी पाँच पुस्तकहरु भन्दा पनि एउटै कामको विवरण हो । आज यहुदीहरुले यी पुस्तकहरुलाई ५४ भागमा खण्डमा विभाजन गरी एक बर्षको प्रत्येक हप्ता अध्ययन गर्ने गर्दछन् । जसलाई parshiot भनिन्छ ।

उत्पत्ति देखि व्यवस्थाका पुस्तकलाई छोटकरीमा पञ्चपुस्तक भनिन्छ, जुन मोशाद्धारा लेखिएको हो भनेर बाइबलीय विद्वाहरु विश्वास गर्दछन् । पञ्चपुस्तक भित्र पहिलो मानिस आदम देखि लिएर प्रतिज्ञाको देशमा लैजानको निम्ति अगुवाई गरेका मोशाको मृत्यु सम्म समावेश गरिएको छ । मोशाको पुस्तकको परिचयमा लेखक बिरेन्द्र श्रेष्ठ लेख्छन्, “यस खण्डमा संसारको सुरुको अवस्थादेखि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेशसम्मको अवस्थालाई समावेश गरिएको छ । यो खण्ड अरु ६१ ओटा पुस्तकहरुको लागि आधारभूत पुस्तक हो ताकि यसले अरु पुस्तकहरुमा लेखिएका कुराहरुलाई बुझ्न सजिलो पार्दछ ।” पुस्तकहरुका संकलनका रुपमा इस्राएली राज्य (यहुदी मानिसहरु) को निम्ति ‘ईश्वरशास्त्रीय विधान’ बनाएका छन् र परमेश्वरद्धारा प्रकट गरिएका आधारभूत सत्यताहहरुलाई पनि समावेश गर्छन् । जसमा ख्रीष्टियन विश्वास अडिएको छ । पाँच पुस्तकहरुले सृष्टिबाटको समय अवधिदेखि कनानको प्रतिज्ञा देशमा प्रवेश गर्ने समयसम्मको अवधिलाई ढाकेका छन् । यसैले पञ्चपुस्तकलाई बाइबलको एक जगको रुपमा लिइन्छ । किनकि सम्पूर्ण संसारको सृष्टि, मानवको सृष्टि तथा जातीहरुको उत्पत्ति र विकासको बारेमा पञ्चपुस्तकले बताउँदछ । यसैले लेखक डेसिन जे मोक लेख्छन्, “पाँच पुस्तकहरुका शिक्षालाई पहिले नबुझि बाइबलका अन्य भागहरुलाई पूर्ण रुपमा बुझ्न सम्भव नै छैन् ।”

पञ्च पुस्तकको महत्व

१. सृष्टि र मानव जीवनको आधार बुझाउँछन्
उत्पत्तिले संसारको सृष्टि, मानवको उत्पत्ति, पापको प्रवेश, र परमेश्वरसँगको सम्बन्धको सुरुवात वर्णन गर्छ। यसले जीवनको मूल प्रश्न “हामी कहाँबाट आयौँ?” को उत्तर दिन्छ।

२. परमेश्वरको योजना र प्रतिज्ञा देखाउँछन्
अब्राहाम, इसहाक र याकूब जस्ता पात्रहरू मार्फत परमेश्वरको उद्धार योजना सुरु भएको देखिन्छ। यसले विश्वास, आज्ञाकारिता र प्रतिज्ञामा आधारित सम्बन्ध सिकाउँछ।

३. व्यवस्था र नैतिक नियमहरू दिन्छन्
प्रस्थान, लेवी , गणना, र व्यवस्थामा परमेश्वरले इस्राएलीहरूलाई दिएका नियमहरू छन्। यी नियमहरूले नैतिक जीवन, समाजिक व्यवहार र उपासना कसरी गर्ने भन्ने सिकाउँछन्।

४. उद्धार र स्वतन्त्रताको कथा
विशेष गरी प्रस्थानमा इस्राएलीहरू मिस्रको दासत्वबाट मुक्त भएको घटना छ, जसले स्वतन्त्रता, विश्वास र परमेश्वरको शक्तिको सन्देश दिन्छ।

५. जीवनका मार्गदर्शनका स्रोत
यी पाँच पुस्तकहरूले मानिसलाई सही र गलत छुट्याउन, अनुशासनमा बस्न, र परमेश्वरसँगको सम्बन्ध बलियो बनाउन मार्गदर्शन गर्छन्।

६. सम्पूर्ण बाइबलको आधार
पछि आउने बाइबलका सबै शिक्षाहरू यिनै पाँच पुस्तकमा आधारित छन्। त्यसैले Pentateuch लाई बाइबलको जग (foundation) मानिन्छ।

संक्षेपमा, उत्पत्ति देखि व्यवस्था सम्मका यी पुस्तकहरूले सृष्टि, व्यवस्था, इतिहास र आध्यात्मिक जीवनको आधार तयार पार्छन्, जसले आज पनि मानिसको जीवनमा मार्गदर्शन र अर्थ दिन्छ।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखन पेशाका साथै ग्राफिक डिजाइनर, वेव डेप्लपर, लेखक, सम्पादक साथै शिक्षक हुन् । ५ भन्दा बढी पुस्तकहरूमा कलम चलाएका उनी ललितपुरमा बसोबास गर्छन् । इश्वरशास्त्रीय क्षेत्रमा पावल थियोलोजिक सेमिनारीबाट B.Th. का साथै हिमालयन ग्राजुएट स्कूल अफ थियोलोजीबाट M.Div. उर्तीण गरेका श्रेष्ठ हाल त्रिभुवन विश्वविद्घालयमा पत्रकारिता विषयमा M.A गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.