येशूको हुनुहुन्छ भन्ने प्रश्न २००० बर्ष देखि सोधिरहेको प्रश्न हो । यसको बिषयमा धेरै पुस्तकहरू लेखिए र हरेकले येशूको हुनुहुन्छ भन्ने कुरा व्याख्या गर्न थाले अनि अहिले पनि यो प्रश्न निकै प्रभावशाली छ र अहिले पनि मानिसहरूले येशूको हुनुहुन्छ भन्ने बारेमा लेख्दैछन् । धार्मिक, इतिहासिक, मनोवैज्ञानिक, साँस्कृतिक तथा राजनीतिक तरिकाबाट येशुको परिचय दिदछ । तर वास्तवमा येशू को हुनुहुन्छ ? उहाँको बारेमा बाइबलले के बताउँछ ?
लेखक तथा पाष्टर आर. सी. स्प्रौल लेख्छन्, “ख्रीष्ट को हुनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन खोजिएका प्रयासहरुले सटीक उत्तर दिनुको सट्टामा झन् धेरै भ्रमात्मक सिद्धान्तहरुको सिर्जना गरेको छ । जुन प्रश्न येशूले आफ्ना चेलाहरुलाई पनि सोध्नुभएको थियो “तर तिमीहरुचाहिँ के भन्छौँ, म को हुँ ?” यो प्रश्न यतिधेरै महत्वपूर्ण छ कि, एक व्यक्तिले दिने उत्तरसँगै उसको अनन्त भविष्य पनि गाँसिएको हुन्छ ।” येशूको बारेमा महत्वपूर्ण शब्दहरुद्वारा लेख्दै विश्वचर्चित इतिहासकार पेलिकानले लेखे, “नासरतका येशूको विषयमा कुनै पनि व्यक्तिले व्यक्तिगत रुपमा जे जस्तो सोच राखेतापनि झण्डै बिस शताब्दीसम्म पाश्चात्य जगत्को इतिहासमा उहाँ प्रभावशाली पात्र हुनु भएको छ ।” “येशू को हुनुहुन्छ ? सम्भवतः सारा मानव इतिहासमा अन्य कुनै प्रश्नभन्दा यो प्रश्नको बारेमा बढी खोज र अनुसन्धान गरिएको छ । येशू गैरख्रिस्टियानहरूका लागि असल शिक्षक, मुसलमानहरूका लागि एक अगमवक्ता त ख्रीष्टियानहरूका लागि परमेश्वरका पुत्र हुनुहुन्छ ।
तपाईंको विचारमा येशू ख्रीष्ट को हुनुहुन्छ ? कोही मानिसले भन्छन् उहाँ एक महान् गुरु हुनुहन्थ्यो, अरुहरुले उहाँलाई भविष्यवक्ता, दार्शनिक, पश्चिमी ईश्वर अथवा असल मानिस जसको उदाहरण हामीले पछ्याउनु पर्दछ भनी भन्दछन् । प्रभु येशू ख्रीष्ट महान् गुरु र भविष्यवक्ता हुनुहुन्थ्यो तर उहाँ यी कुराहरुभन्दा पनि धेरै हुनुहुन्छ । उहाँ दार्शनिक वा हाम्रो उदाहरण भन्दा धेरै हुनुहुन्छ । प्रभु येशू ख्रीष्ट पश्चिमी देश बेलायत वा अमेरिकामा जन्मनुभएको होइन र यसकारण हामीहरु उहाँलाई पश्चिीमी ईश्वर भन्न सक्दैनौँ । उहाँ मध्यपूर्वी देश इस्राएलमा भन्डै २,००० वर्ष पहिले जन्मनुभएको थियो र पनि संसार वरिपरिका करोडौँ मानिसहरुले उहाँलाई व्यक्तिगत रुपमा चिनेका दावी गर्दछन् । तिनीहरु उहाँको निम्ति मर्न पनि तयार छन् ।
येशू ख्रीष्टको बारेमा लेखक कमल अधिकारी लेख्छन्, “येशूको सेवा–कार्य केवल साँढे तिन वर्ष लम्बिएको थियो । तर त्यस सङ्क्षिप्त अवधिले मानव–जातिमा नमेटिने छाप छोडेर गएको छ । उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न तर मानव–जाति बसोबास भएको ६ वटै महादेशमा उहाँलाई पछ्याउनेहरु मानग्गे छन् । आफुले स्थापना गर्नुभएको ख्रिस्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका प्रायः सबै धर्महरुले उहाँलाई आदर्श व्यक्तित्वको रुपमा हेर्छन् । येशू ख्रीष्टियानहरुको पर्खालभित्र मात्र होइन तर गैरख्रिस्टियानहरुको मैदानमा पनि उपस्थित हुनुहुन्छ ।”
येशू केवल मानिस वा शिक्षक मात्र हुनुहुन्न तर उहाँ त पुरानो करारले केन्द्रित गरिएको प्रतिज्ञाका मसिह हुनुहुन्छ । उहाँ मानिसहरुलाई पाप र मृत्युबाट बचाउँनको लागि आउनु भयो र परमेश्वर प्रेम प्रमाणित गर्नुभयो । येशू पुत्र हुनुहुन्छ अर्काे शब्दमा भन्नु पर्दा येशू परमेश्वरको पुत्र हुनुहुन्छ । उहाँले शक्ति दिनुभयो, परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो र उहाँले उदेकको आश्चर्यकर्म पनि गर्नु भयो ।
बाइबलले भन्दछ येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहन्छ र उहाँ आफै र आफ्नै अस्तित्वमा परमेश्वर हुनुहुन्छ । उहाँलाई अनन्तका पिता पनि भनिन्छ, शक्तिशाली परमेश्वर र इम्मानुएल जसको अर्थ हो परमेश्वर हामीहरु सँग ।
येशू ख्रीष्ट को हुनुहुन्छ भनेर बाइबलले हामीलाई स्पष्ट रुपमा बताएको छ । बाइबलले भन्छ, त्रिएक परमेश्वर मध्येको एक परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१, १०ः३०,१४ः११,१७ः२१–२३), बचन हुनुहुन्छ (यूहन्ना १ः१–३), ज्योति हुनुहन्छ (यूहन्ना १ः४–५,८ः१२), मानिसको रुपमा आउनुभएको परमेश्वरको पुत्र हुनुुहुन्छ (यूहन्ना १ः१४), थुमा हुनुहुन्छ (यूहन्ना १ः२९,३६), जीवनको रोटी हुनुहुन्छ (यूहन्ना ६ः३५, ६ः५५), सत्यता हुुनुहुन्छ (यूहन्ना ८ः३२), मुक्तिको ढोका हुनुहन्छ (यूहन्ना १०ः९), असल गाठालो हुनुहुन्छ (यूहन्ना १०ः११, १४), पुनरुत्थान र जीवन हुनुहुन्छ (यूहन्ना ११ः२५,२६), बाटो सत्य र जीवन हुनुहन्छ (यूहन्ना १४ः६), सृष्टिकर्ता र उत्तराधिकारी हुनुहुन्छ (हिब्रू १ः२), परमेश्वरको महिमाको प्रतिबिम्ब हुनुहुन्छ (हिब्रू १ः३), मुक्तिदाता हुनुहुन्छ (हिब्रू १०ः१०,१४,१९), महान वा प्रधान पूजाहारी हुनुहुन्छ (हिब्रू १ः१७,४ः१४), जीवनको बचन हुनुहुन्छ (१ यूहन्ना १ः१,२), साँचो परमेश्वर तथा अनन्त जीवन हुनुहुन्छ (हिब्रू ५ः२०), उद्धारक (हिब्रू २ः२, ४ः१०) हुनुहुन्छ ।
बाइबलले अनुसार येशूचाहिँ त्यो व्यक्ति हुनुहुन्छ जसद्धारा हामी सम्पूर्ण मानिसहरुले मुक्ति प्राप्त गर्दछौँ । येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने सन्दर्भमा लेखक एल्टज जी हिल लेख्नछन् “उहाँ मृत्युबाट बौरी उठ्नुभएको कारणले हामी जान्दछौँ कि उहाँचाहिँ उहाँ आफैँले भन्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ परमेश्वरका पुत्र र संसारका मुक्तिदाता हुनुहुन्छ । येशू ख्रीष्ट फेरी बौरी उठ्नुभएको कारणले हामी जान्दछौँ कि उहाँले हाम्रा निम्ति दिनुभएको बलिदान परमेश्वरले ग्रहन गर्नुभएको छ । जसले उहाँमाथि विश्वास गर्छ उसको पापको क्षमा हुन्छ ।”