हामीहरु यस प्रश्नको उत्तर हामी ४ शब्दमा दिन सक्छौ: १.प्रकाश, २.तयारी, ३.सट्टा र ४.मध्यस्थ
१.प्रकाशः
परमेश्वर कस्तो हुनुहुहुन्छ भनी हामीलाई देखाउन येशू ख्रीष्ट मानिस भएर जिउनुभयो । हामीहरु उहाँमा परमेश्वरको स्वभाव प्रकट भएको देख्छौँ । येशू ख्रीष्टलाई चिन्नाले हामी परमेश्वरलाई चिन्छौँ । सिद्ध मानवत्व कस्तो हुनसक्छ भनेर हामीलाई देखाउन परमेश्वरका पुत्र मानिस बन्नुभयो । हामी मानवजातिको निम्ति येशू ख्रीष्टको सिद्ध जीवन र स्वाभाव एक नमूनाको रुपमा देख्छौँ । यही नै उदाहरण हुनुहुन्छ । उहाँको स्तरबाट नै हाम्रा शब्दहरु, विचारहरु र कामहरुको नाप हुन्छ । उहाँमा हाम्रो जीवन कस्तो प्रकारको हुन सक्छ भन्ने कुरा उहाँले हामीलाई देखाउनुहुन्छ । उहाँ हामीमा रहेर हामीलाई परमेश्वरका सन्तान बनाउनु हुन्छ । एफिसी ४ः१३ “जबसम्म हामी सबै विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैँनौँ, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौँ । येशू ख्रीष्टको जीवनले उहाँको सेवाको निम्ति चाहिने योग्यता पनि प्रदर्शन गराएको छ । उहाँ हाम्रो सट्टाको योग्य हुनुहुन्छ भन्ने कुरा उहाँको पापरहित जीवनले देखाउँछ । उहाँको शक्ति, बुद्धि र प्रेमले उहाँ हाम्रा राजा हुन योग्य हुनुहुन्छ भनी प्रमाणित गर्दछ ।”
२.तयारीः
मानिस हुनुभएको कारणले उहाँले गर्नुपर्ने कामको निम्ति येशू ख्रीष्टको जीवन तयारी हुन आवश्यक थियो । येशू ख्रीष्टको जीवन तयारी हुन आवश्यक थियो । येशू ख्रीष्टले मानव स्वभावको अनुभव गर्नुभयो जसद्वारा उहाँ हाम्रा प्रतिनिधि र न्यायधीश हुनको निम्ति तयारी हुनुभयो । हाम्रा पूजाहारी हुनको निम्ति येशू ख्रीष्ट मानिस बन्न आवश्यक थियो । उहाँले हाम्रा कमजोरीहरु बाँड्नुभयो । आज्ञाकारिताको निम्ति चुकाउनु पर्ने मूल्यको विषयमा उहाँले आफ्नै दुःख कष्टबाट सिक्नुभयो । येशू ख्रीष्ट यस संसारमा छँदा आफ्ना चेलाहरुका निम्ति प्रार्थना गर्नुभयो र अहिले पनि हाम्रा आवश्यकताहरुलाई राम्रोसँग बुझेर हाम्रा निम्ति स्वर्गमा प्रार्थना गरिरहनुहुन्छ । हिब्रू २ः१७–१८ “यसैकारण हरके कुरामा उहाँ आफ्नै भाइहरुजस्तै बनाइनुप¥यो, र मानिसहरुका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो । किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरुलाई उहाँले सहायता गर्न सक्नुहुन्छ ।” हिब्रू ४ः१४–१६ “आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान प्रधान पूजाहारी हुनुभएको कारण हामीn पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौँ । किनकि हाम्रा प्रधान पूजाहारी हाम्रा दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहससँग अनुग्रहको सिंहासन नजीक जाऔँ, र समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ ।”
येशू ख्रीष्टको मानवीय अनुभवले मानिसमाति शासन गर्नको लागि उहाँलाई तयारी पारेको थियो । मानिसको पुत्र र आदमको वंशको सिद्ध प्रतिनिधि नै यस संसारको शासक हुनुहुनेछ । हामीलाई आवश्यक परेका सबै कुराहरु जान्ने हुनुभएकोले उहाँ सिद्ध राजा हुनुहुनेछ । उहाँले हामीलाई बुझ्नुहुनेछ । हाम्रा निम्ति उहाँ मर्नुभएको कारणले हाम्रो जीवनलाई शासन गर्ने अधिकार उहाँसँग छ । उहाँलाई विश्वास गरी स्वीकार गर्नेको हृदयमा उहाँ राजा हुनुहुन्छ । कुनै दिन उहाँले संसारमा शासन गर्नुहुनेछ, जसको निम्ति उहाँ मर्नु पनि भयो । दानिएल ७ः१३,१४ “रातीको दर्शनमा मैले हेरिनै रहेको थिएँ, अनि आकाशका बादलहरुसँग मानिसका पुत्रजस्तै कोही आइरहनुभएको मैले देखेँ । उहाँ ती अति प्राचीन उमेरकहाँ आउनुभयो र उहाँकै सामने हाजिर गराइनुभयो । अनि विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरुले उहाँको सेवा गरुन भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो । उहाँको सर्वाधिकार कहिल्यै नबित्ने, सदासर्वदैको सर्वाधिकार छ, अनि उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन ।”

३.सट्टाः
येशू ख्रीष्ट मर्न सक्नको निम्ति नै जन्मनुभएको थियो । सबै मानवजातिले पाप गरेका कारण अनन्तको निम्ति दण्ड पाएका थिए । हामीहरु प्रत्येकले त्यही नै दण्ड पाएका छौँ । परमेश्वर आफैले हाम्रो दण्ड लिएर मात्र हामीलाई बचाउन सक्नुहुन्थ्यो । परमेश्वर भएरै उहाँ मर्न सक्नुभएन । यसकारण हाम्रो सट्टामा मर्न र हामीलाई पापबाट उद्धार गर्न उहाँ मानिस बन्नुभयो । येशू ख्रीष्टले क्रुसमा हाम्रो ठाउँ लिनुभन्दा पनि अझ धेरै गर्नुभयो । उहाँ मरेको शरीरबाट बौरीउठ्नु भयो र उहाँलाई मुक्तिदाता भनी स्वीकार गर्ने सबैलाई उहाँको अनन्त राज्यमा ठाउँ पनि उहाँले दिनुभएको छ उहँ आफैसँग उहाँले हामीलाई मिलाउनु हुन्छ, यसकारण उहाँले परमेश्वरको पुत्रको अधिकार हामीसँग बाँड्नु भएको छ । हिब्रू २ः९ः११,१३–१५ ।

४.मध्यस्थः
परमेश्वर र मानिसलाई एकैसाथ ल्याउनको निम्ति येशू ख्रीष्ट मानव बन्नुभयो । पापले पवित्र परमेश्वर र दुष्ट अनि विद्रोही मानिसको बीचमा ठूलो अन्तर गराएको छ । तर परमेश्वरको प्रेमले त्यस पापी मानिसलाई उहाँ आफैकोमा ल्याउन र खाली ठाउँमा पुल हाल्ने काम गर्न सक्यो । प्रभु येशू ख्रीष्ट परमेश्वर र मानिसहरुको बीचमा नयाँ करार वा सम्बन्धको मध्यस्थ हुनुभएको छ । १ तिमोथी १ः५,६ “किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरुका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ– मानिस ख्रीष्ट येशू ।” उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो । नयाँ नियम समयमा अदालतले ऋण तिर्न नसक्ने व्यक्तिको प्रतिनिधित्व गर्न र उसको सबै जिम्मा लिनको निम्ति मध्यस्थलाई नियुक्त गथ्र्याे । सबै व्यक्तिहरुको ऋण तिरिएको छ कि छैन भनी हेर्ने जिम्मेवारी मध्यस्थको हुन्थ्यो । यदि ऋणीले आफ्नो सम्पतिबाट तिर्न नभ्याउने भए, मध्यस्थ आफैले त्यो ऋण तिरिदिन्थ्यो ।
येशू ख्रीष्टको नमुना कस्तो सुन्दर देखिन्छ । उहाँ परमेश्वरको अगाडि हाम्रो मध्यस्थ हुनुहुन्छ । उहाँको मृत्युले हाम्रा सबै पाप ढाक्छ र हामीलाई परमेश्वरबाट छुट्याउने पाप र दोषबाट हामी उहाँमा स्वतन्त्र हुन्छौँ । उहाँको क्रूसले परमेश्वर र मानिसको बीचको खाली ठाउँलाई जोड्छ । उहाले हामीलाई नयाँ स्वाभाव अर्थात उहाँको स्वाभाव दिएर परमेश्वरका छोराछोरीहरु बनाउनुभयो । येशू ख्रीष्टले मानव स्वभाव धारण गरेर हामीकहाँ आउनुभयो र उहाँले हामीलाई उत्तम तरिकाले जिउन सहायता गर्नुहुन्छ । हामी परमेश्वरका सन्तान हुन सकौँ भनेर परमेश्वरका पुत्र मानिसको पुत्र बन्नुभयो । गलाती ४ः४–५ “तर समयको पूर्णतामा परमेश्ले आफ्ना पुत्रलाई पठाउँनुभयो । उहाँ एउटी स्त्रीबाट जन्मनुभयो, तथा व्यवस्थाको अधीनमा रहनेहरुलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक पाउन सकौँ ।” १ पत्रुस ३ः१८ “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरुका निम्ति सदाको लागि एक चोटि मर्नुभयो । उहाँ शरीरमा मारिनुभयो– धमीजन अधर्मीहरुका निम्ति–तर आत्माद्वारा जीवित पारिनुभयो ।”
येशू बिषेश गरी हामी मानव जातिको मुक्तिको लागि नै यस संसारमा आउनु भएको हो भन्ने कुरा बाइबलले स्पष्ट पार्दछ । यस विषयमा अल्बान डग्लस लेख्छन् “मुक्तिदाता हुनको निम्ति येशू कन्याद्वारा जन्मिनु भएको परमेश्वर हुनु मात्र पर्याप्त थिएन, तर उहाँ साँचो मानिस पनि हुनुपथ्र्याे । पापपूर्ण हुनुबाहेक उहाँ हरेक क्षेत्रमा हामीजस्तै हुनुहुन्थ्यो । परमेश्वरको सम्बन्धको कुरामा उहाँ कृपालु र विश्वासयोग्य प्रधान पूजाहारी हुनलाई येशू हामी जस्तै हुनुभयो । व्यवस्थाबाट हामीलाई छुटकारा दिन भनी येशू व्यवस्थाको अधीनमा भएर जन्मनुभयो ।” यस्तै कति मानिसहरुले विश्वास गर्छन् कि येशू यस संसारमा रोगीहरुलाई निको पर्न वा अरुलाई सहायता गर्न मात्र जन्मनु भएको थियो । हो येशूले रोगीहरुलाई निको पार्नु भयो तर उहाँको उद्देश्य यो मात्र होइन । “येशू संसारमा आउनुको उद्देश्य यी आश्चर्यकर्महरु मात्रै थिएन । ती आश्चर्यहरु चाहिँ प्रमाणहरु थिए जसले येशूको पाप क्षमा गर्ने अधिकारद्वारा प्रतिज्ञा गरिएका ससिहको रुपमा उहाँलाई स्थापित गरे । यी सबै रोगहरु केवल वास्तविक समस्याका लक्षण मात्र थिए ।”

निष्कर्ष
“किन येशू मर्न आउनुभयो ५० कारण” भन्ने पुस्तक लेखक जोन पाइपरले उहाँको पुस्तकमा येशू आउनुको ५० कारणहरु बताउनु भएको छ । यो निकै प्रख्यात पुस्तक पनि हो । यसमा पनि येशूको मानवत्व हुनुको कारणबाट व्याख्या गरिएको छ । “प्रभु येशूको बाल्यकाल गालील राज्यको नासरत शहरमा बित्यो । टायर र सिडोनको दुईवटा ठूला बन्दरगाह र येरुशलेमसँग जोडिने राजमार्ग यो नासरत शहर रहेको थियो । पाप र अपराध यस ठाउँमा ज्यादा भएको कारणले मानिसहरु भन्थे ‘के कुनै असल चीज नासरतबाट आउन सक्ला र ?’ प्रभु येशूले मानिसहरुलाई स्वार्थी, भ्रष्टचारी, अत्याचारी र परमेश्वरको विरोधी भएको देख्नुभयो । उहाँले सबै मानिसहरुलाई पापको कमारा भएको देख्नुभयो । जब येशू र योसेफ आफ्नो सिकर्मी कारखानाभित्र काम गरिरहेका थिए, तब मानिसहरु रोमी सरकारदेखी स्वतन्त्रता पाए त हुनेथियो भन्दै कुरा गरिहेको येशूले सुन्नुभयो । तर येशूलाई थाहा थियो कि राजनीतिक स्वतन्त्रताले मानिसहरुको समस्यालाई समाधान गर्न सक्दैन । मानिसहरुलाई आवश्यकता परेको कुराचाहिँ तिनीहरुमाथि राज्य गर्ने पापबाट छुटकारा पाउनु थियो । यही छुटकारा दिनलाई येशू ख्रीष्ट संसारमा आउनुभयो हो ।” समग्रहमा भन्नु पर्दा येशू सम्पूर्ण ब्रामण्डको सृष्टिकर्ता र सम्पूर्ण मानिसहरुलाई तिनीहरुको पापको श्रापबाट बचाउनु हुने परमेश्वर हुनुहुन्छ साथै उहाँ अनन्तका पिता पनि हुनुहुन्छ । उहाँ जो हुनुहुन्थ्यो, हुनुहुन्छ र सदा सर्वदा भईरहनु हुनेछ ।
