ख्रीष्टियन विश्वासको सबैभन्दा महत्वपूर्ण र गहिरो सिद्धान्तहरूमध्ये एक हो – त्रिएक परमेश्वर (Trinity)। “त्रिएक” भन्नाले एउटै परमेश्वर तीन व्यक्तित्वमा प्रकट हुनुभएको सत्यलाई जनाउँछः

- पिता परमेश्वर
- पुत्र परमेश्वर (येशू ख्रीष्ट)
- पवित्र आत्मा परमेश्वर । यी तीन अलग-अलग परमेश्वर होइनन्, तर एकै परमेश्वरका तीन व्यक्तित्व हुन्। अर्थात्, परमेश्वर स्वभाव, शक्ति, महिमा, र अस्तित्वमा एउटै हुनुहुन्छ, तर व्यक्तित्वमा तीन हुनुहुन्छ।
शुरुका ख्रीष्टियानको निम्ति त्रिएकता साक्षात अनुभव थियो । कालान्तरमा यसलाई सिद्धान्तको रुपमा तर्जुमा गरियो । आथनेसियसको मातहातमा ३२५ ई.सं. मा नैसियाको परिषद्मा यसलाई मण्डलीको विश्वासको रुपमा घोषणा गरियो । एक शताब्दी पछि अगस्टिनले यो सिद्धान्तलाई त्यो रुप दिए, जुन आथनेसियन नामक विश्वासको सारमा प्रदान गरियो, यो सारलाई त्रिएकता मान्ने मण्डलीहरुले आजसम्म पनि स्वीकार गरेका छन् । यसमा व्यक्तिहरुका सम्बन्धमा तीन तथ्यलाई स्वीकार गरिएको छ । पहिलो, यहाँ भिन्नतामा एकता छ, तीनै रुपमा ईश्वरीय विद्यमान छन् । व्यक्ति वास्तवमा उचित शब्द होइन, किनकि त्रिएकताको सिद्धान्तले तीन पृथक व्यक्तित्व बोध गराउन चाहेको होइन, परमेश्वरको तत्वm व्यक्तित्व र इच्छा एउटै छन्, तर परमेश्वर बिभिन्न अस्तित्वका रुपमा, चरित्रहरुमा, तथा कार्यहरुमा प्रकट हुनुहुन्छ । दोस्रो, तीन व्यक्ति मर्यादा, स्वभाव र इज्जतमा समान हुनुहुन्छ (यूहन्ना ५:१८, १ कोरिन्थी २:१०–११) । तेस्रो, यी तीन व्यक्तिले आफ्नै बिभिन्न तरीकाले काम गर्नुहुन्छ, पिता पत्रुमार्फत पवित्र आत्माद्धारा काम गर्नुहुन्छ, यसर्थ यूहन्ना १४:२८, १६:१४ मा येशूको स्थान सानो भनी देखाइएको कुरा उहाँहरुको सम्बन्धको आधारमा छ, उहाँहरुको स्वभावको आधारमा होइन ।
‘चौथो शताब्दीमा अरियानिजम् भन्ने झुटा शिक्षाले प्राप्त गरेको शक्तिले इसाई जगतलाई लाथालिङ्ग बनाइदियो । उक्त समस्यालाई सम्बोधन गर्न ताल्कालीन मुख्य पाँच क्षेत्रका मण्डलीहरुबाट आएका प्रतिनिधीहरु इसाई इतिहासमा पहिलोपटक एकै ठाउँमा भेला भए (अलेक्जेण्ड्रिया मण्डली, यरुशलेम मण्डली, एन्टियोक मण्डली, कन्स्टाण्टिनोपल मण्डली र रोम मण्डली) । ती मण्डलीहरु प्रत्येकको आफ्नै अनि फरक नीतिपरक, सैद्धान्तिक, साँस्कृतिक र भाषिक पृष्ठभूमी थियो । तसर्थ, येशूमा हामी सबै एकै हौँ भने तापनि एकै ठाउँमा भेला भएर काम गर्न तिनीहरुलाई गाह्रो थियो । तर आरियानिजम्को कडा प्रहारपछि तिनीहरु मण्डलीमा विद्यमान समस्या समाधान गर्न अति गम्भीर भए । त्यसपछि तिनीहरु एकै ठाउँमा जम्मा भएर तत्कालीन समस्याको समाधान खोज्न बाध्य भए । उक्त एकै ठाउँको सामुहिक भेलालाई ‘विश्वव्यापी परिषद्’ भनिन्छि ।’
‘त्यसबेलाका मण्डलीहरुको अवस्थालाई आरियानिजम्ले भद्रगोल बनाएपछि, त्यो समस्यालाई समाधान गर्न ती पाँच मण्डली क्षेत्रहरुमा प्रतिनिधिहरु एकै ठाउँमा भेला भएर विश्वव्यापी परिषद्हरु आयोजना गरे ।’ ती विश्वाव्यापी परिषद्हरु निम्नि हुन् :
१.नाइसियाको पहिलो विश्वव्यापी परिषद्
२.कन्स्टाण्टिनोपलको दोस्रो विश्वव्यापी परिषद्
३.एफिससको तेस्रो विश्वव्यापी परिषद्
४.काल्सेदोनको चौथो विश्वव्यापी परिषद्
‘चारवटा विश्वव्यापी परिषद्हरुपछि मात्र अन्त्यमा त्रिएकको सिद्धान्त स्थापित भएको तथ्य थाहा पाउन सकिन्छ । यद्यपी इ.सं. ३० मा नै इसाई इतिहासको पहिलो मण्डली अर्थात यरुशलेम मण्डली निमार्ण भए तापनि इसाई इतिहासलाई नियाल्दा त्रिएकको सिद्धान्त प्रतिपादन गर्न (इ.सं. ३८१) सुरुका इसाईहरुलाई ३५० बर्षको लामो समय लाग्यो ।’
तर हामीले यहाँ बुझ्नु पर्ने कुरा के हो भने त्रिएक सिद्धान्त इ.सं. ३८१ मा प्रतिपादन गरे भन्नुको अर्थ यो होइन कि त्यस भन्दा अगाडी त्रिएक परमेश्वर माथि कसैले पनि विश्वास गर्दैन थिए । त्यस समयमा मानिसहरुले त्रिएक परमेश्वरमाथि नै विश्वास गरिआएका थिए तर झुटा शिक्षाबाट बाट बच्नको लागि सबैलाई हुने गरी लिखित रुपमा सबैले पारित चाहिँ त्यस सयमा गरिएको हो भनिएको हो । उनीहरुले सल्लाह गरेर उनीहरुलाई मन लागेर, बाइबल बिपरीत र उनीहरुले कहिल्यै थाहा नै नपाएको वा विश्वास नै नगरेको कुरा जबरजस्ती लागु गरिएको भन्न खोजेको होइन । बैद्यानिक रुपमा सर्वमान्य तरिकाबाट उनीहरुले पहिला पनि विश्वास गरेका र बाइबल अनुसार नै उनीहरुले झुटा शिक्षाबाट बच्नको लागि यो परिषद्हरुमा तयार पारिएको हो । यो सिद्धान्त जबरजस्ती बनाइएको सिद्धान्त होइन तर यो त एक मात्र परमेश्वर जो तीन व्यक्तित्वमा हुनुहुन्छ उहाँको बारेमा अझै सत्य जानुन भन्ने हेतुले मानिसहरुको सामु ल्याउनको लागि बिभिन्न परिषद्हरु बसि बाइबल अनुसार, उनीहरुले विश्वास गरे अनुसार नै ल्याएको एक महत्वपूर्ण र रहस्यले भरिएको शिक्षा हो ।
डा. थोमस ह्वाङ्ग आफ्नो पुस्तकमा लेख्नुहुन्छ,
‘विगतमा भएका चार विश्वव्यापी परिषद्हरुको असल पक्ष भनेको इसाई जगतमा त्रिएको सिद्धान्तजस्तो मुख्य अनि आधाभूत सिद्धान्तलाई स्थापित गर्नु हो ।’
फेरी पनि यहाँ म भन्न चाहान्छु कि त्रिएक सिद्धान्त मानिसले बनाएको सिद्धान्त होइन तर यो बाइबल अनुसारको नै हो । बिभिन्न परिषद्हरुद्धारा यसलाई प्रकाशमा ल्याइएको मात्र हो । यो मानिसको प्रकाश होइन तर परमेश्वरको प्रकाश हो । उनीहरुले पहिला पनि त्रिएक परमेश्वर माथि विश्वास गर्दथे । त्यस समयमा झुटा शिक्षाले निकै प्रभाव पारेको हुदाँ उनीहरु विभिन्न परिषद्हरु बसी यो त्रिएक परमेश्वरको सिद्धान्त बाइबल अनुरुप सबैलाई मान्य हुने हेतुले तयार पारिएको हो । यो कसैको एकलौटी निर्णय होइन तर यो त बाइबलको वास्तविकता र सत्यता को प्रकाश हो ।