जब पवित्र धर्मशास्त्र बोल्दछ...

✝️ म विश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान् पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि। अनि उहाँको एक्लो पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिबाट गर्भ धारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउँतनुभयो, स्वर्गमा चढ्नुभयो, सर्वशक्तिमान् परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जीवित र मरेकाहरूको न्याय गर्न फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि, र अजम्मरी जीवनमाथि। आमिन्।
snap pro 1773569948979

परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो ?

बाइबल (विशेषगरी उत्पत्ति 1:26–27) मा “परमेश्वरले मानिसलाई उहाँको आफ्नै स्वरूप (image) र प्रतिरूप (likeness) मा बनाउनुभयो” भन्नुको अर्थ के हो भन्ने प्रश्न गहिरो बाइबलीय र हिब्रू भाषिक अध्ययनसँग जोडिएको छ।

मूल हिब्रू शब्दहरू हेर्दा उत्पत्ति 1:26 मा प्रयोग भएका दुई मुख्य हिब्रू शब्दहरू छन्:
(क) स्वरूप = צֶלֶם (Tselem) जसको शाब्दिक अर्थ: मूर्ति, छवि, प्रतिनिधि प्रतिमा भन्ने हुन्छ । प्रतिनिधित्व गर्ने छविको अर्थमा स्वरूप भन्ने शब्द प्रयोग गरिएको छ । परमेश्वरको “स्वरूप” हुनु भनेको मानिस परमेश्वरको प्रतिनिधि भएर पृथ्वीमा उहाँको शासन र अधिकार झल्काउने प्राणी हो भन्ने अर्थमा यस शब्दको प्रयोग गरिएको हो ।

(ख) प्रतिरूप = דְּמוּת (Demut) भन्ने शब्दको अर्थ समानता, मिल्दोजुल्दोपन, resemblance भन्ने भन्ने हुन्छ तर शारीरिक रूपमा भन्न खोजेको होइन तर गुणात्मक समानतालार्इ जनाउँछ । यसैले स्वभावगत रूपमा समानता भन्नको निम्ति प्रतिरूप भन्ने शब्द प्रयोग गरिएको हो । मानिस परमेश्वरजस्तै पूर्ण होइन, तर उहाँका केही गुणहरू (जस्तै चेतना, नैतिकता, सम्बन्ध राख्ने क्षमता) भएको प्राणी हो।
किन दुई शब्द प्रयोग गरियो?
सम्भवत जोड दिनको निम्ति दोहोर्याएको हुन सक्ने सम्भवना छ । किनकि हिब्रू भाषामा एउटै सत्यलाई बलियो बनाउन समान अर्थका शब्दहरू सँगै प्रयोग गरिन्छ। यहाँ पनि मानिसको विशेष स्थान र मर्यादा जोड दिन “स्वरूप र प्रतिरूप” दुवै प्रयोग गरियो।
दुई फरक तर पूरक पक्ष देखाउनको निम्ति दुर्इ शब्द प्रयोग गरिएको हुन सक्ने सम्भावना बढी देखिन्छ ।
शब्द जोड दिएको पक्ष
Tselem (स्वरूप) भूमिका / प्रतिनिधित्व
Demut (प्रतिरूप) स्वभाव / गुणात्मक समानता
अर्थातः
• मानिस परमेश्वरको प्रतिनिधि हो (कार्यात्मक पक्षको दृष्टिकोणमा)
• मानिस परमेश्वरजस्तै केही गुणहरू भएको प्राणी हो (स्वभाविक पक्षको दृष्टिकोणमा)

परमेश्वरमा भएको गुणहरू मात्र हो, शारीरिक समानता होइन किनकि परमेश्वर आत्मा हुनुहुन्छ (यूहन्ना 4:24)। त्यसैले “स्वरूप र प्रतिरूप” भन्नाले शारीरिक आकृति जनाउँदैन बरु आन्तरिक, नैतिक, बौद्धिक र आत्मिक पक्ष जनाउँछ
यसो भए कुन–कुन पक्षमा मानिस परमेश्वरजस्तै छ?
बाइबलका अन्य पदहरूको प्रकाशमा, मानिस यी कुरामा परमेश्वरको स्वरूपमा बनाइएको छ:
1. नैतिक चेतना – असल/खराब छुट्याउने क्षमता
2. बौद्धिक क्षमता – सोच्ने, योजना बनाउने, सिर्जना गर्ने
3. सम्बन्धात्मक स्वभाव – प्रेम गर्ने, सम्बन्ध बनाउने (त्रिएक परमेश्वरको प्रतिबिम्ब)
4. शासन गर्ने जिम्मेवारी – सृष्टिमाथि प्रभुत्व (उत्पत्ति 1:28)
5. आत्मिक क्षमता – परमेश्वरसँग सम्बन्ध राख्ने
जब मानिसले पाप गरे तब परमेश्वरको स्वरूप र प्रतिरूप बिग्रियो तर नष्ट भनी भएन । त्यसैले उत्पत्ति 9:6 र याकूब 3:9 मा पापपछिको मानिसलाई पनि परमेश्वरको स्वरूपमा बनाइएको भनिएको छ। तर येशू ख्रीष्टलाई “परमेश्वरको पूर्ण स्वरूप” (कलस्सी 1:15) भनिएको छ । किनकि उहाँमा कुनै पाप छैन् ।

यसैले “परमेश्वरको स्वरूप र प्रतिरूपमा मानिस बनाइयो” भन्नुको बाइबलीय अर्थ मानिस परमेश्वरको शारीरिक नक्कल होइन, तर उहाँको प्रतिनिधि, नैतिक र आत्मिक गुण बोकेको, सृष्टिमाथि जिम्मेवारीसहित शासन गर्न बोलाइएको विशेष प्राणी हो।

By संगम श्रेष्ठ

संगम श्रेष्ठ लेखक, ग्राफिक डिजाइनर, वेब डेभलपर, सम्पादक तथा शिक्षक हुन्। उनले B.Th. र M.Div. उपाधि हासिल गरेका छन् तथा पाँचभन्दा बढी पुस्तकहरूको लेखन र सम्पादनमा योगदान दिएका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषयमा M.A. अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.